यासोक/ खानेपानीका लागि काकाकुल बन्दै आएका पाँचथर सुख्खाक्षेत्र कुम्मायकबासीका लागि दिन फिरेका छन् ।
घण्टौंसम्म पानीका लागि दुःख कष्ट झेल्दै आएका कुम्मायकबासीका लागि अब भने सहज भएको छ । कुम्मायक–५ का भक्तबहादुर थापाले मध्यराति पनि फोनमा अलराम लगाएर पानी बोक्न हिँड्थे । उनले पानी बोकेको डोकाको छाप अझै हटेको छैन । अधिकांश छिमेकीले पीडा खप्न नसकेर गाउँ नै छाडे । कठोर सङ्घर्ष गरेका उनी अहिले खुशी छन् । घरमै पानीको धारा झर्न थालेपछि थापाले विगतका दुःख र पीडा क्रमशः भुल्दै जान थालेका छन् ।
हिजोको दिन सम्झिँदा कुन जुनीको पाप भोगिए छ जस्तो लाग्थ्यो । यो मरुभूमिमा पानी नखाई मरिन्छ की जस्तो लाग्थ्यो । तर, अहिले धेरै वर्ष बाँचिन्छ की जस्तो लाग्छ हर्सित हुँदै उनले सुनाए । तमोरको पानी देखाउँदै थापा भन्छन् । दैनिक पानी बोक्न जाँदा घर छेउबाट बगिरहेको तमोर नदी हेर्ने गर्थे, कल्पना भदा बाहिर लाग्थ्यो तमोरको पानी यति माथि आउँछ भन्ने विषयमा तर अहिले त तमोरको पानी पनि मिठो हँुदो रहेछ । अब त गाग्रो बोक्ने दिन गए जस्तो लाग्छ थापाले भने ।
खानेपानीको कुवा र धारामा २४ सै घण्टा रात दिन बिताउने गरेका सुख्खाक्षेत्रका स्थानीयवासी हर्षित छन् । तमोरको पानी खान पाएपछि उनीहरूको दैनिकी फुर्सदिलो बनेको छ । रात भर पानी बोकेर दिनमा काम गर्नु पर्दा बिरामी भएको स्मरण गर्दै कुम्मायकै अर्की स्थानीय सीता नेपाली भन्छिन् श्रीमानहरु त पैसा कमाउन विदेशमा हुनुहुन्थ्यो । छोरा छोरीलाई खुवाई प्याई गरेर घरको काम भ्याउन निकै कठिन हुन्थ्यो । भोको पेट रात दिन पानी बोक्न जाँदा पेट दुखेर कति पटक त बिरामी भएर उपचार पनि गर्नुप¥यो । त्यो दिन सम्झिँदा आङ सिरिङ्ग हुन्छ । उनले भनिन् अहिले त यो शरीरले पानीको गाग्रो बोक्नु पर्दैन जस्तो लागेको छ । यस्तो पीडा कसैले भोग्नु नपरोस् जस्तो लाग्छ विगतका दिन सम्झिँदै उनले सुनाइन् ।
खानेपानीको पीडामा कष्टकर जीवन बिताउँदै आएका नागरिकले ‘‘सुख्खाक्षेत्र हाम्रो गाउँ, काकाकुल भयौं पानी खान पाउँ भन्दै सरकारलाई दबाव दिएका थिए । लामो समयको सङ्घर्षपछि अन्ततः २०६८ सालमा सरकारले सुख्खाक्षेत्र घोषणा गरी २०७२ सालदेखि बृहत् तमोर खानेपानी योजना अघि बढाएको थियो । पहाडको पानी बस्तीमा झरेको थाहा थियो तर तमोरको पानी बस्तीमा आउँछ भन्ने विश्वास नगरेका कुम्मायकवासी अहिले हर्षित भएका छन । आँगनमै पानी झर्न थालेपछि देशविदेशमा बसेका आफन्तलाई खुशी साट्न थालेका छन् । कोहीले त तमोरबाट बस्तीमा झरेको पानीमा सेल्फी खिच्ने गरेका छन् । सामाजिक सञ्जालमा फोटो र भिडियो हालेर स्थानीयले एक अपसमा खुशी साट्ने गरेका छन् ।































