इटहरी/ सङ्कट अवस्थामा रहेको चारवटा मातृभाषा पढाइ हुने इटहरीको बाल बहुभाषिक प्राविलाई अङ्ग्रेजीले प्राण भरेको छ ।
लिम्बू, राई, तामाङ र मगर भाषा पढाइ हुने गरी साढे २ दशकअघि स्थापना भए पनि स्कुलले चर्को विद्यार्थी अभाव झेलिरहेको थियो । तर, अहिले अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएसँगै विद्यालय तङ्ग्रिन थालेको हो ।

अहिले कक्षा ४ सम्म अङ्ग्रेजी माध्यममा पढाइ थालिएको छ । साविकको हाँसपोसा–२ हालको इटहरी–२० को बाल बहुभाषिकका विद्यार्थीहरूको ओहोर–दोहोर बाक्लिन थालेको छ । अघिल्लो वर्षसम्म विद्यार्थी अभावले ग्रस्त बनेको विद्यालयप्रति अभिभावकहरूसमेत असन्तुष्ट बन्दै आएका थिए । तर, अङ्ग्रेजी विषय अध्यापन थालिएपछि विद्यालयको अवस्था नै परिवर्तन हुन थालेको स्थानीय आफै बताउँछन् । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको विद्यालयकी प्रधानाध्यापक विद्या राईले बताइन् । उनका अनुसार विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यलयको अवस्था फेरिँदै गएको छ ।

नाम मात्रको बहुभाषिक
शुरुवाती वर्षमा चारवटा मातृभाषामा अध्यापन हुने सुनसरीकै नमूना बनेको विद्यालय पछिल्लो कालमा आएर नाम मात्रैमा सीमित बनेको थियो । अङ्ग्रेजीप्रतिको अभिभावकको मोह तथा विद्यार्थीहरू पनि अङ्ग्रेजीप्रति नै आकर्षित हुन थालेपछि मातृभाषा अध्यापन ठप्प झैं बनेको थियो । २०५१ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा उद्घाटन गरिएको विद्यालयमा अहिले मातृभाषा शिक्षा एकादेशको कथा बनेको छ ।

तत्कालीन समयमा लिम्बू भाषाको पढाइ थालिएको थियो । तत्कालीन अवस्थामा लिम्बू भाषाको पाठ्यक्रम नहुँदासमेत यहाँ पढाइ हुन थालेको थियो । तीनवर्षपछि राई, तामाङ र मगर भाषाको कक्षासमेत थपिएका थिए । तर, अहिले आएर मातृभाषाको पढाइ बन्द भएको प्रअ राई बताउँछिन् । विभिन्न जातजातिका विद्यार्थी पढाउने भनेर खोलिएको भए पनि २०५६ सालदेखि नै अन्य विषय पढाइ हुन छाडेको शिक्षक टेकबहादुर सम्बाहाङ्फेले जानकारी दिए । ‘मैले २०५१ सालदेखि नै पढाउँदै आए पनि ०५६ सालदेखि सरकारले पुस्तक दिएन, त्यसपछि अहिलेसम्म पढाइ हुन सकेको छैन’–उनले भने ।

अङ्ग्रेजी मोह
बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि अहिले बाध्य भएर अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गर्नुपरेको विद्यालयले बताएको छ । अभिभावकहरूको माग नै अङ्ग्रेजी भएकोले पनि विद्यालय बाध्य हुनु परेको हो । ‘हामीले विद्यार्थी बढाउन प्रयास गरिरहे पनि नजिकै खोलिएका बग्रेल्ती निजी विद्यालयका कारण विद्यार्थी नबढेका हुँदा अङ्ग्रेजी पढाउन बाध्य भइयो’–प्रअ राई भन्छिन् । तामाङ टोल निवासी सुस्मिता राईले यस्ता विद्यालयलाई जोगाउन आवश्यक रहेको उनको तर्क छ । ‘नयाँ पुस्तालाई आफ्नो भाषामा दक्ष बनाउन पनि विद्यालयलाई जोगाउनु पर्छ’–उनी भन्छिन् ।