धरान । दुबईको २० हजार दिराम भेटेर सम्बन्धित धनीलाई फिर्ता गरेका एक नेपाली दुबई पुलिसबाट सम्मानित हुने अवसर पाएका छन् ।

दुबई पुलिसले नेपालका सुदीप राना मगरलाई इमान्दारिताको कदर गर्दै प्रमाण–पत्रबाट सम्मानित गरेको हो । उनी दुई वर्षदेखि इको कम्पनीको स्टोरमा कार्यरत मगरले ‘क्यास काउन्टर’ सफाइ गर्ने क्रममा एउटा खामभित्र २० हजार दिराम नगद फेला पारेका थिए । उनले शुरुमा फेला पारे पनि खाली खाम होला भन्ठानेर काउन्टर अगाडि राखिएको डष्टविनमा फ्याकेका थिए ।

तर, खामभित्र केही भएजस्तो लागेका कारण हेर्दा रकम रहेको पाएपछि स्टोर मेनेजरलाई खबर गरेको उनले प्रहरीलाई जानकारी दिएको खलिज टाइम्सले उल्लेख गरेको छ । उनले रकम आइतबार अपरान्ह १२ बजेर ५० मिनेटमा रकम फेला पारेका थिए । उनी नेपालका कुन ठाउँका हुन् भन्नेबारेमा खुलाइएको छैन ।

तर, उनले आफ्नो बुबाले बच्चादेखि नै भेटिएका कुराहरू केही पनि लुकाउनु हुँदैन, जसको हो, उसैलाई फिर्ता गर्नुपर्छ भन्ने भनाइबाट प्रेरित भएको बताएका छन् । ‘बुबाले भन्नुहुन्थ्यो, विशेष गरी पैसाका कुरामा कसैले देखेनन् भने पनि भगवान्ले चाहिँ अवस्य देख्नेछन्’ उनले प्रहरीसामु भनेका छन्, 'त्यसैले सम्बन्धित धनीलाइ फिर्ता गरेँ ।' उनको इमान्दारिताकै कारण बरदुबई पुलिस स्टेसनले उनलाई सम्मानित गरेको हो । उक्त रकम एक पर्यटकको रहेको खुलेको छ ।

दुबईका मिडियाहरूले उनको तस्बिरसहित समाचार प्रकाशित गरेको खबर छ । उनको इमान्दारिताको अहिले सबत्र प्रशंसा भइरहेको छ । बरदुबई पुलिस स्टेसनले पनि उनको कार्यप्रति सम्मान गर्दै प्रमाण पत्र वितरण गरेको उल्लेख गरेको छ । यो अरूका लागि पनि प्रेरक बनेकाे बताइएको छ ।