दमक/ दमक–४ स्थित मावा खोलाको पूर्व पटिको किनारमा हाउनेसरी तामाङको घर छ । उनी यहाँ ३५ वर्षदेखि बस्दै आएकी हुन् । उनले आफ्नो घरको बरण्डामै गाँसेर पालीसमेत बनाएकी छिन् । त्यसैको छेउमा कुखुरा बस्ने खोर र अझै अगाडि घुम्ती पसल पनि छ ।

तर, उनका यी सबै संरचना मङ्गलबार सडक विभागले भत्काइदियो । सडक अतिक्रमण गरेर बनाइएको हुँदा उनका यी सबै संचना भत्काइएको हो । ‘पुलको छेउमा त केही गर्दैन होला भन्ने लागेर केही टहरा बनाएका थियांै’ सडक विभागले सडक अतिक्रमण गरेर बनाएको संरचना भत्काउनका लागि टोली नै लिएर उनको घरमा पुग्यो । उनलाई आफूले गल्ती गरेर संरचना बनाएको थाहा भएकाले कुनै दुखेसो गरिनन् । ‘बाटो पनि बढ्छ भन्ने सुनियो त्यही भएर बाटोको जमिन फिर्ता गरेको हो । ’ आफ्नो टहरा भत्काउँदै उनले भनिन् ‘विकासका लागि हामी बाधक त बन्नु भएन नि त । ’

सडक अतिक्रमण गरिएका कारण दुर्घटना बढेपछि झापाको दमक नगरपालिकाले नगरभित्रका सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन थालिएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत दमक नगरपाकिला भित्र निर्माण गरिएका संरचना मङ्गलबार अपराह्न १ बजेदेखि भत्काउन शुरु गरिएको हो । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार सडक अतिक्रमण गरेर निर्माण गरिएका सबै संरचना आफै हटाउन यस अघि नै सात दिने र १५ दिनेको सूचना सार्वजनिक गरि सकेका छौं ।

त्यस सूचनालाई अटेर गरेर राखिएका होडिङबोर्ड, अस्थायी टहरा, स्थायी संरचना, निर्माण सामाग्री, सबै धमाधम हटाउन थालिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् । सडक डिभिजन कार्यालय दमकमा प्रमुख श्यामकुमार यादवका अनुसार दमक नगरपालिकाको पश्चिम सीमा क्षेत्र मावा खोलादेखि पूर्व रतुवा खोला बीचमा मुख्य राजमार्गको दायाँबायाँको २५ ÷ २५ मिटर क्षेत्र खाली गरिनेछ । मुख्य सडकको अतिक्रमण हटाइएसकेपछि भित्री सडकपेटीका संरचना भत्काउन शुरु गरिनेछ । यो क्रम निरन्तर जारी राखिने यादवले बताए ।

प्रमुख यादवका अनुसार मुख्य राजमार्गको दायाँबायाँमात्र नगरभित्र ३९ वटा संरचना भत्काउनुपर्ने आवश्यकता देखिएको छ । त्यस्तै झापा जिल्लाभित्र पर्ने मुख्य पूर्वपश्चिम राजमार्ग क्षेत्रको पूरै संरचना हटाइनेछन् । झापाभित्र मात्र १ सय ९ वटा संरचना भत्काउनु पर्ने सूचीमा रहेको दमक सडक डिभिजन कार्यालयले जनाएको छ । यसका लागि तत् तत् स्थानीयतहसँग सहकार्य भइरहेको कार्यालय प्रमुख यादवले बताए । ‘जनप्रतिनिधि नै फिल्डमा आएर सहयोग गरिरहनुभएको छ । यो नै हाम्रा लागि आफ्नो क्षेत्रको सुरक्षा गर्ने महŒवपूर्ण अवसर हो ।’ यादव भन्छन् यही साथ मावादेखि मेचीसम्म पर्ने स्थानीयतह र जनप्रतिनिधिले साथ दिने हो भने एक महिनाभित्रमा सडक अतिक्रमण गरेर बनाएका सबै संरचना हामी हटाई सक्छांै ।’

दमकको पश्चिम तराबारी क्षेत्रमा मात्र सडक अतिक्रमण गरी राखिएका होडिङबोर्ड, सडक छेउमा थुपारिएका निर्माण सामाग्री घरको पाली टहरालगायतका सामाग्री हटाइएको छ । दमक ट्राफिक कायर्यालयका प्रमुख यज्ञराज शर्माका अनुसार दमक क्षेत्रमा होडिङबोर्ड र विभिन्न संरचनाका तथा निर्माण सामाग्रीका कारण सडक दुर्घटना बढी हुने गरेको पाइयो । पछि दमक नगरपालिकाको यातायात तथा ट्राफिक व्यवस्थापन समितिको अगुवाइमा अतिक्रमित संरचना हटाउन थालिएको जानकारी दिए । ‘सडकमा सवारीको चाप बढ्दो छ । थेग्ने स्थिति छैन ।

अधिकांश ठाउँमा पैदल यात्री हिँड्ने समेत ठाउँ छैन । साना सवारी चेपुवामा परेका छन् । अझ यही सडकको किनारमा कतिपय ठाउँमा पर्किङ समेत गरिएको छ । यसले गर्दा पनि सवारी व्यवस्थापन गर्न निकै हम्मे हम्मे परेको छ । दमक ट्राफिक प्रमुख शर्माले भने सडकले आफ्नो क्षेत्र त क्लियर गर्दै छ अब त्यसको थप संरक्षण र वर्तमान सडकको अवस्थालाई हेरेर थप गर्नु पर्ने संचना पनि चाँडै बनाएमा सडकका कारण हुने दुर्घटना कम हुने थियो । ’ शर्मा भन्छन् यो काममा सबैको साथ र सहयोग हुन आवश्यक छ ।

राजमार्गमा अतिक्रमण गरिएका संरचनाले चालकको ध्यान मोडिने राजमार्गमा परसम्मको दृश्य नियाल्न नसक्ने र आकस्मिक रूपमा सवारी साधनलाई ठाउँ दिन नसक्दा दुर्घटना हुने गरेको उनले बताए । अतिक्रमणबाट क्लिन भएको सडकको रेखाङ्कन गरेर पिल्लर गाड्ने तयारी समेत रहेको सडक विभागका प्रमुख यावदले बताए । सडकलाई ४ लेन बनाउने सरकारको योजनामा पनि सडकको ८२ फुट खाली गराउन आवश्यक रहेको उनको भनाइ छ ।