धरान/ केन्द्रीय प्रविधि क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा आइतबारदेखि हात्तीसार क्याम्पसको खेल मैदानमा तीनदिने हात्तीसार एक्स्पो २०२० शुरु भएको छ ।

धरान–१४ विजयपुरस्थित केन्द्रीय प्रविधि क्याम्पसको मैदानमा भौतिक शास्त्र, रसायन शास्त्र, खगोल शास्त्र, वनस्पती शास्त्र, खाद्य प्रविधि, जलवायु परिवर्तन र पर्यावरण, स्मार्ट प्रविधि, खाद्य प्रविधि, औषधिजन्य वनस्पतीलगायतका विषयमा प्रदर्शनी शुरु भएको प्रचार विभाग प्रमुखसमेत रहेका माइक्रो बायोलोजी विभागका प्रमुख धिरेन्द्र लिम्बूले बताए ।

उनले भने, ‘हात्तीसार क्याम्पसमा विज्ञान विषयका विभिन्न फ्याकल्टीमा अध्ययरत विद्यार्थीहरूमा भएको प्रतिभा, क्षमता, उनीहरूले गरेका अध्ययन अनुसन्धानलाई समाजको हितसँग जोड्दै सर्वसाधारण र नयाँपुस्ताका विद्यार्थीहरूलाई जानकारी दिन हात्तीसार एक्स्पो २०२० आयोजना गरिएको हो ।’

क्याम्पसका निमित्त प्रमुख प्रा डा.दिलकुमार लिम्बूको अध्यक्षतामा शुरु भएको एक्स्पोको सङ्घीय सांसद जयकुमार राईले उद्घाटन गरेका थिए । झापा, मोरङ र सुनसरीका विद्यार्थीहरूको समेत सहभागिता रहेको उक्त प्रदर्शनीमा फर्मालिन हालेर जस्ताको तस्तै देखिने गरी सुरक्षित राखिएका अनौठा र विभिन्न जीव जन्तुका र मानिसका मृत शरीर प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनीमा दुई टाउके बच्चा, दुई टाउको भएको पाडो, विषालु सर्प, समुद्री माछाहरू, हात्तीको जस्तो सुँढ भएको सुँगुरको बच्चालगायत प्रदर्शनीमा राखेका छन् । आगन्तुक विद्यार्थीहरूले दुईटाउके बच्चा हेर्न रुचि देखाएका थिए ।

५६ वटा स्टलहरू रहेको एक्स्पोमा स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरूले खाद्य प्रविधि र पोषणअन्तर्गत परम्परागत र आधुनिक खानाका परिकार, पेय पदार्थका परिकार, खाद्य सुरक्षाबारे प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले बनाएका स्मार्ट डस्टवीन र रिमोटले चल्ने ड्रोनप्रति प्रदर्शनी हेर्न आएका विद्यार्थीहरूको भीड लागेको थियो । फोहोर हाल्दा आफै खुल्ने र फोहोर झारिसकेपछि आफै बन्द हुने स्मार्ट डस्टविन, रिमोटले उड्ने ड्रोन प्रदर्शनीसँगै माइक्रोबायोलोजीका विद्यार्थीले हाल चर्चामा रहेको नोबल कोरोना भाइसर र डेङ्गु भाइरसको विषयमा पनि प्रदर्शनी गरेका छन् ।

एक्स्पोमा वनस्पतीशास्त्रका विद्यार्थीहरूले औषधिजन्य वनस्पतीहरू प्रदर्शनी गरेका छन् । यसैगरी धरानको विजयपुर डाँडामा पाइने अलग्गै जातको पुतली पनि प्रदर्शनीमा राखिएको छ ।