यासोक/ पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ को देउराली भीरमा गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले चासो दिएका छन् ।

सवारी साधन आवत–जावत गर्न समस्या भएपछि कुरुम्बाङले चासो दिएका हुन् । उत्तरे–यासोक– लुम्बुघाट सडक–खण्ड अन्तर्गत पर्ने उक्त सडकको मर्मत सम्भार गरिएको छ । गाउँपालिकाको पहलमा सडकको मर्मत सम्भार गरिएसँगै सवारी साधन आवत–जावत सहज भएको छ ।

राँके–उत्तरे–यासोक सडकमा दैनिक साना–ठूला दर्जन बढी सवारी साधन आवत–जावत गर्दै आएका छन् । भीरको सडक साँघुरो भएका कारण यातायातमा समस्या हुँदै आएको थियो । यसअघि ठूला सवारी साधनले राँके–फिदिम–यासोक सडकको घुमाउरो सडक प्रयोग गर्दै आएका थिए । तर गाउँपालिकाले सडकको मर्मत सम्भार गरेसँगै जोखिम कम भएको सवारी चालकहरूले बताए । साँघुरो सडकको स्तरोन्नति भएपछि ठूला सवारी साधनले उक्त सडकको बाटो प्रयोग गर्न थालेका छन् ।

उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका वीरबहादुर कुरुम्बाङले विकास निर्माणको काममा तीव्रता दिने बताउँदै आएका थिए । उनले गाउँपालिकाकै देउराली भीरको सडकमा सवारी साधनलाई समस्या भएकोप्रति चासो दिएका हुन् । गाउँपालिकाबाट स्काभेटरको प्रयोग गरी यातायातमा केही सहज बनाउने उद्देश्यले तत्कालको लागि सडक मर्मत गरिएको छ ।

गतवर्ष डेनर्माक सरकारको सहयोगमा उत्तरे–यासोक १६ किलोमिटर सडक स्तरोन्नति भएको थियो । तर भिरालो जमिन भएको देउराली सडकलाई जोखिम युक्त सडकको रूपमा लिइएको छ । सवारी साधनलाई बाह्रै महिना सञ्चालनमा ल्याउन गाउँपालिकाले पहल गर्ने अध्यक्ष कुरुम्बाङले बताए । ‘जनताले विकासमा पछि परेको गाउँपालिकामा निर्वाचित गराएका छन् । पहिलो जिम्मेवारी भौतिक संरचनाको विकास गर्ने हो । यो विषयमा जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छु र सोही अनुसार काम गर्दै आएको छ’ –उनले भने ।

कुम्मायक गाउँपालिकाको केन्द्र यासोकबाट उत्तरे–राँके हुँदै झापासम्म स्थानीयहरू आवत–जावत गर्दै आएका छन् । राँके–उत्तरे–रवि सडक कालोपत्रेका लागि अघि बढेकाले उत्तरे–यासोक लुम्बुघाट हुँदै तेह्रथुमको म्याङ्लुङ जोड्ने सडक कालोपत्रे गर्नको लागि पहल गर्दै आएको दुवै गाउँपालिकाले जनाएका छन् । झापाको दमक–लारुम्बा–यासोक सवारी साधन चल्न थालेपछि ६ किलोमिटर क्षेत्रफलमा फैलिएको देउराली सडकलाई गाउँपालिकाले चासोका रूपमा लिएको छ ।