उदयपुर / उदयपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिकाको विभिन्न ठाउँबाट लागुऔषधसहित रमेश थापा, राष्ट्र राई र असिम राई पक्राउ परेका हुन् ।
त्रियुगा नगरपालिका–६ को लालपत्ता प्रहरी चौकीबाट चेकिङमा खटेका प्रहरी टोलीले त्रिनपा–१३ निबासी २० वर्षीय थापालाई चेकजाँच गर्ने क्रममा उनको साथबाट नाईट्रोजेपाम ७५ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै त्रिनपा–४ बगाहाको जंगलबाट त्रिनपा–५ निबासी २० वर्षीय राष्ट्र र २२ वर्षीय असिमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकिङमा खटेका प्रहरी टोलीले दमौटीबाट गाईघाट तर्फ आउँदै गरको स ८ प ९७४४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुको साथबाट दुई सय ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरेको तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।






























