यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकाले सडक आसपासको घरटहरा हटाउन निर्देशन दिएको छ ।

गाउँपालिकाको केन्द्र यासोक–फिदिम सडक अन्तर्गत यासोक–सरखण्डे सडक आसपासमा रहेका घरटहरा हटाउन कार्यालयले निर्देशन दिएको हो । सडक कालोपत्रेको काम तीव्र रूपमा अघि बढेको भन्दै गाउँपालिकाले योजनाको काम गर्दा असर पु¥याउने संरचना हटाउन परिपत्रसमेत गरेको छ । यासोक र रानीगाउँ बजारक्षेत्रमा सडकभित्र घरटहरा, पेटीलगायतका संरचनाले सडक निर्माणको काममा असर पु¥याएको भन्दै तत्काल हटाउन निर्देशन दिएको हो ।

पूर्वाधार विकास कार्यालय पाँचथरले सडक असपासमा रहेका संरचनाले सडक निर्माणमा असर पु¥याएको भन्दै एक महिनाअघि गाउँपालिकालाई पत्राचार गरेको थियो । गाउँपालिकाले कार्यपालिकाको बैठकमार्फत् सडक भित्रका संरचना हटाउने विषयमा एक साताअघि निर्णय गरेको थियो । सोही निर्णयअनुसार घरधनीहरूलाई पत्राचार सँगै सूचना टाँस गरी घरटहरा हटाउन निर्देशन दिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

गाउँपालिकाले निर्देशन दिएको समयमा अटेर गरे सम्भावित क्षतिको जिम्मेवार घर र जग्गाधनी हुनुपर्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यासोक–फिदिम ११ किलोमिटर सडक अन्तर्गत यासोक र रानीगाउँ बजारमा स्थानीयले घर घडेरीलगायतका संरचना निर्माण गरेका छन् । त्यस्ता संरचनाले सडक कालोपत्रेमा बाधा पुर्याउँदै आएको छ ।

एक दशकअघि फिदिम –यासोक सडक आसपासको क्षेत्रमा डिपिआर भएको थियो । डिपिआर भएको स्थानमा मापदण्ड विपरीत स्थानीयले सडक अतिक्रमण गरी भोगचलन गर्दै आएका थिए । सडक निर्माणले हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै यसअगाडि गाउँपालिकाले सहमति जुटाउने विषयमा पहल गरेको थियो । तर आफूहरूलाई सडक डिपिआर भएको थाहा नभएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग गरेपछि सहमति नजुटेपछि घरटहरा हटाउन निर्देशन दिएको हो ।

यासोक–फिदिम सडक–खण्डअन्तर्गत यासोक–सरखण्डे ११.३१० किलोमिटर सडक कालोपत्रेको काम तीव्र गतिमा हुँदै आएको छ । प्रदेश सरकारको ५३ करोड ३३ लाख ६ हजार ४ सय ७१ भ्याटसहितको रकमबाट लामा च्याङ्मिला जेभी बानेश्वर काठमाडौंले ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । निर्माण कम्पनीले २०७६ साल असार ३१ गतेदेखि २०७८ साल असार ३० गते निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्दै आएको छ ।