जिरोपोइन्ट/ चर्चित गायन रियालिटी शो दी भ्वाइस अफ नेपालको टिम धरान आउने भएको छ ।

द भ्वाइस अफ नेपालको पूर्व टुर अन्तर्गत धरानमा हुने भ्वाइस अफ नेपाल सिजन २ फाइनलिस्ट म्युजिकल कन्सर्टको लागि सम्पूर्ण टिम धरान आउने भएको हो ।

धरान–१२ मा रहेको पब्लिक स्कुलको खेल मैदानमा हुने कन्सर्टमा भ्वाइस अफ नेपाल सिजन २ को विजेता राम लिम्बूको साथमा आरिफ राउफ, सनिष श्रेष्ठ, विकास लिम्बू, याङ्की यल्मो, अञ्जु राना मगर र एजेश पौडेलको प्रस्तुति दिने भएका छन् । सम्पूर्ण गायकहरूलाई ब्याक अप म्युजिकमा प्रोजेक्ट डी ब्याण्डले साथ दिनेछन् । आउँदो माघ २४ गते रेडियो धरानको आयोजनामा हुने कन्सर्टमा उनीहरू सहभागी हुन लागेका हुन् । उद्घोषण भ्वाइस अफ नेपालका उद्घोषक सुशील नेपालले गर्नेछन् ।

कार्यक्रमको शुरुवात अञ्जु राना मगर र याङ्की यल्मोले गर्नेछन् । डिजे मलिक स्याडोको डिजेइङ रहनेछ । धरानको दर्शकहरूको लागि भ्वाइस अफ नेपाल सिजन २ को टोलीद्वारा मनोरञ्जन प्रदान गर्नको लागि उक्त कार्यक्रमको आयोजना गरिएको भए पनि कार्यक्रमपश्चात् सामाजिक कार्यको रूपमा धरान–१३ निवासी रुद्र बस्नेतलाई ३० हजार रुपैयाँ सहयोग गरिने भएको छ । बस्नेत स्नायु प्रणालीसम्बन्धी रोगबाट ग्रस्त रहेका छन् । उनको उपचारमा सहयोग पु¥याउनका लागि उक्त रकम सहयोग गर्न लागिएको हो ।