पथरी/ मोरङ कानेपोखरी गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएको डेढ वर्ष बितिसकेको छ ।
तर, यही गाउँपालिकाको केही क्षेत्र भने अझै खुला दिसामुक्त क्षेत्र बन्न सकेका छैन । त्यसैको उदाहरणका रूपमा कानेपोखरी–२ दलेली बजारलाई लिन सकिन्छ । शुक्रबार र सोमबार गरी साताको दुई पटक लाग्ने बजारमा सार्वजनिक ौचालय नहुँदा खुला रूपमा नै दिसापिसाब गरिँदै आएको छ ।
२०७१ सालमा साविक केरौन गाविसको सहयोगमा बजार व्यवस्थापन समितिले सार्वजनिक शौचालय निर्माणको थालनी गरे पनि अझै पूरा हुन सकेको छैन । जसका कारण पनि खुला रूपमा दिसापिसाब गरिँदै आएको छ । बजार भर्न आउने व्यापारी तथा उपभोक्ताहरू खेतबारीमै दिसापिसाब गर्ने गरेको स्थानीय विद्यानान्द चौधरीले बताए । केरौन गाविसले शौचालय निर्माणका लागि १ लाख ५० हजार रकम विनियोजन गरेको थियो । उक्त रकमले शौचालय निर्माण सम्पन्न गर्न नसक्दा अहिले अधुरै अवस्थामा रहेको छ ।
बाटोको छेउमा पर्ने जीर्ण शौचालय वरिपरि खुला रूपमा दिसा र पिसाब गरिदिनाले बजार दुर्गन्धित बनेको स्थानीय रिता राउतले बताइन् । कोनेपोखरी गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडाका वडाध्यक्ष सुशील बुढाथोकीले हाल अधुरै रहेको शौचालय बाटोको जग्गामा पर्ने भएकाले अब अर्को स्थानमा जग्गा खरिद गरी शौचालय निर्माण गरिने बताए । दलेली बजारमा सार्वजनिक शौचालय निर्माण गर्न गाउँपालिकाले दुई आर्थिक वर्षमा ४ लाख रुपैयाँका दरले बजेट विनियोजन गरे पनि जग्गा अभावमा निर्माण गर्न नसकिएको उनले बताए ।