इटहरी/ प्रदेशसभा बैठक बसेको करिब डेढ वर्ष पुग्दा पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुईतिहाइ सरकारले एक नम्बर प्रदेशको नामाकरण गर्न सकेको छैन ।
प्रदेशसभाले गत वैशाखमा प्रदेशको स्थायी राजधानी विराटनगर तोके पनि नाममा विवाद उत्पन्न हुँदा नामाकरण हुन सकेको छैन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले अबको अधिवेशनमा नामको टुङ्गो लाग्ने बताए ।
संस्कृतिविद् डा.सोमप्रसाद खतिवडाले प्रदेशको नामाकरण गर्न ढिलाइ भइरहेको बताए । प्रदेश सरकारले नामको विषयमा बखेडा नराखी कोशी प्रदेश नामाकरण गर्नुपर्ने उनको धारणा छ । प्रदेशको नाम जातीय आधारमा राख्दा सबै जनताले स्वीकार नगर्ने हुँदा कोशी प्रदेशमा सहमति गरेर तत्काल नामाकरण गर्नुको विकल्प नरहेको उनले बताए । ‘कोशी प्रदेशलाई जनजाति, मधेसी, मुस्लिम र क्षेत्री–बाहुनले समेत स्वीकार गर्ने हुनाले ढिलाइ गर्नु हुन्न’ –उनी भन्छन् ।
प्रदेश नम्बर १ का नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले अहिलेसम्म नामाकरणको विषयमा छलफलसमेत नगरेको बताए । उनी भन्छन्, ‘हामीले लामो समयदेखि नामाकरण चाँडो गरौं भनेका छौं तर अहिलेसम्म आधिकारिक छलफलसमेत गरेको छैन ।’
आगामी अधिवेशनमा नामाकरणका लागि कडा रूपमा प्रस्तुत हुने काङ्ग्रेसको योजना रहेको उनले बताए । प्रदेश संसदीय दलको बैठक बसेर दबावमूलक अभियान थाल्ने तयारी भइरहेको उनको भनाइ छ ।
नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशको नामका विषयमा यो अधिवेशनमा टुङ्गो लाग्ने बताए । सबै दललाई समेटेर अगाडि बढ्ने लक्ष्य रहेका कारण नामाकरणको विषयमा ढिलाइ भएको उनको भनाइ छ । उनले भने, ‘लामो समयदेखि विवादमा रहेको नामाकरण हामी सबै दलको सहमतिमा गर्नेछौं, यो अधिवेशनमा प्रदेश नामाकरण टुङ्ग्याउनेछौं ।’
प्रदेश १ मा सत्तापक्ष नेकपाकै दुईतिहाइ पुग्छ । नाम तोक्न आवश्यक दुईतिहाइका लागि ६२ सांसद् चाहिन्छ । प्रदेश १ को प्रदेशसभामा ९३ सांसद्मध्ये नेकपाका ६७ सांसद् छन् । नेपाली काङ्ग्रेससहित अरू दलका २६ सांसद् छन् ।
प्रदेशको नाम टुङ्गो नलाग्दा प्रदेशसभा तथा सरकारको आलोचना हुन थालेको छ । प्रदेश गठन भएको लामो समय बितिसक्दा पनि नाम टुङ्गो लगाउन नसकेकोमा सर्वसाधारण जनताले प्रदेशसभा तथा प्रदेश सरकारको आलोचना गर्न थालेका हुन् ।
प्रदेश नं. १ मा भने अहिले प्रदेशको नाम के राख्ने भन्ने विषयमा विभिन्न राजनीतिक दल तथा प्रदेशमा सक्रिय विभिन्न राजनीतिक सङ्गठनहरूले प्रदेशसभालाई सुझाव दिन थालेका छन् । विभिन्न राजनीतिक सङ्गठनहरूले प्रदेश १ को नाम कोशी, सगरमाथा, लिम्बुवान, किरात लिम्बुवान खम्बुवान, किरात प्रदेश आदि राखिनु पर्नेमा जोड दिइरहेका छन् ।