सन् २०२१ को डिसेम्बरमा प्रदर्शनमा आउने भनिएको फिल्म ‘अवतार २’ धेरै दर्शकका लागि प्रतिक्षित फिल्म हो ।

फिल्म आउन धेरै समय बाँकी रहे पनि फिल्मका केही तस्बिरहरू सार्वजनिक भएका छन् । निर्माण कम्पनीले फिल्मका आकर्षक तस्बिरहरू सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको हो ।

सन् २००९ मा रिलिज भएको ‘अवतार’ को दोस्रो सिक्वेलको दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । ‘अवतार’ मा पृथ्वी र पेण्डोरा ग्रहवासीबीचको युद्ध देखाइएको थियो । आधिकारिक जानकारीका अनुसार दोस्रो सिक्वेलमा पेण्डोरा ग्रह मात्र देखाइने छैन । नयाँ विश्व पनि देखाइनेछ ।

साइन्स फिक्सनमा आधारित यो फिल्मले विश्वमै सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड राखेको थियो । अवतारको रेकर्ड सन् २०१९ मा रिलिज भएको फिल्म ‘एभेञ्जर्स इण्ड गेम’ ले तोडेको थियो । जेम्स क्यामरुनले निर्देशन गरेको ‘अवतार’ ले विश्वको ध्यान तान्न सफल भएको थियो । यसका ४ भाग रिलिज हुने निर्देशक क्यामरुनले घोषणा गरिसकेका छन् ।