जेफाले/ मोरङको केराबारी गाउँपालिकाको बत्तीसजुरे भीरले जोकोहीलाई डर सिर्जना गर्ने गरेको छ ।
‘निकै डरलाग्दो भीर रहेछ’– छिमेकी लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले भनिन् । केराबारी जेफाले सम्मेवासम्मको सडक क्षेत्रले अप्ठेरो भीरखण्ड हुँदै जिल्लाकै निकै रमणीय डाँडो जेफाले पु¥याउँछ । उक्त सडक धनकुटाको भेडेटार हुँदै ६ नम्बर बुधबारेलाई जोड्छ । त्यही तेर्साे बाटोले मोरङ, धनकुटा, इलाम र पाँचथरको सिमानाका रूपमा रहेको ऐेतिहासिक तथा पर्यटकीय डाँडो ‘मिक्लाजुङ’ जोड्छ ।
सडक व्यवस्थित निर्माण हुँदा त्यताबाट कृषिजन्य उत्पादन लिएर तराई ओर्लिन सहज हुने केराबारी ७ का पूर्णप्रकाश पूर्वछानेको भनाइ छ । ‘मोरङको एउटै मात्र चियाबगान, १ हजार ९ सय मिटर उचाइको ज्यादै रमणीय जेफालेको अवलोकनका लागि यो सडक चाँडै बन्नु आवश्यक छ’– उनले भने । केराबारीको खदम खोलामा पुल बन्दै गरेकाले धरानतर्फबाट यही बाटो हुँदै ताप्लेजुङको पाथीभरा पुग्न छोटो दूरी पर्ने पनि उनले सुनाए ।
पूर्वछानेसहित मोरङ जिल्ला अन्तरपालिका साझा सरोकार समितिको समन्वय बैठकमा सहभागी हुन जिल्लाका १७ पालिकाका प्रमुख, उप्रमुखहरूलगायतको सहभागिताको बैठकमा सोही बाटो हुँदै जेफाले उक्लिएका थिए । बत्तीसजुरेको पहिरोसमेत गएको दुवैतिरको भीरमा घाँटीजस्तो परेको ठाउँमा पुगेछि सबैका लागि यात्रा अप्ठेरो बन्यो । पहाडी अप्ठेरो बाटोमा गाडी हाँक्न बाँनी परेकाहरूले अरूका साना गाडी बत्तीसजुरेको उकालो कटाइदिए । जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्का केराबारी बजारबाट जेफाले जोड्ने बाटो व्यवस्थित रूपमा निर्माण हुन सकेमा जेफालेमा पर्यटकको घुँइचो लाग्ने बताउँछन् ।
‘०७२ सालमा ५ वटा घरबाट शुरु भएको होमस्टे हाल ८ वटा घरमा सञ्चालित छ । १ सय जनाजतिलाई बसाउन सक्ने अवस्था छ । अझै अरू घरमा पनि होमस्टे बनाउने योजनामा छौं । ’– उनले थपे ‘यहाँ हामीले स्थानीय जातका खानाका परिकार दिएर होमस्टेको यथार्थ प्रस्तुत गरेका छौं ।’ त्यहाँको जेफाले टावरबाट सूर्याेदयसहित पूर्वाञ्चलका जिल्लाहरू हेर्न आउनेको विदाको दिन घुँइचो नै लाग्ने गरेको छ ।
तत्कालीन सांसद कोष, जिल्ला विकास समिति, गाविस र स्थानीयको सहयोगमा बाटोको ट्«याक खोलेर १३ वर्षअघिबाट सडक सञ्चालनमा आएको छ । केराबारी १०, २, ३ र लेटाङको १ र २ नम्बर वडाको केही भाग सो बाटोले छुँदै धनकुटा जिल्ला छुन्छ । पूर्वपश्चिम मुख्य सडकबाट ३५ किलोमिटरको उत्तरी दिशामा रहेको केराबारी २ मा पर्ने जेफालेको यात्रा सजिलो बनाउन सो सडकको निर्माणका लागि सरकारी योजना अघि बढेको छ ।
८ महिना अघिजसो सो सडक निर्माणको ठेक्का शुरु भएको छ । एशियाली विकास बैंङ्कको सहयोगमा सडक कार्यालय विराटगरले ८६ करोड बढीको लागतमा २ वर्षमा जेपाले जाने सडकसहित बेलबारीको लक्ष्मीमार्ग दक्षिणको आमतोला सडक कालोपत्रे गर्ने ठेक्का लगाएको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले जानकारी गराए ।