भण्टावारी/ सामाजिक सुरक्षा भत्ता पाउने उद्देश्यसहित वडा कार्यालय आएकी कोशी गाउँपालिका–७ की लालादेवी मुखिया नपाउने भएपछि निराश थिइन् ।

६ महिनादेखि सामाजिक सुरक्षा भत्ता लिन पटक–पटक वडा कार्यालय धाएकी मुखिया अब आउने सामथ्र्य हराउँदै गएको भन्दै सहपाठीसँग बुधबार गफिँदै गरेको अवस्थामा भेटिइन् । ‘जाडोले बिजोक छ’ उनले भनिन, ‘शरीरमा लाउने लुगा छैन, टालटुल गरेको स्वेटरले पुसको जाडो बित्दै छ ।’ ‘बुढेसकालमा छोराले भनेको मान्दैन, सामाजिक सुरक्षा भत्ताबापत आएको रकमले गुजारा चल्थ्यो’ लालोले थपिन्, ‘त्यो पनि ६ महिनादेखि पाएको छैन, कसरी गुजारा चलाउनु ?’ सामाजिक सुरक्षा भत्ता पाए सबभन्दा पहिले जाडोबाट बच्न स्वेटर किन्ने योजना रहेको सुनाउँदै रकम उपलब्ध गराइदिन उनले आग्रह गरेकी छन् । लालो मुखिया त एउटा प्रतिनिधिपात्र मात्र हुन् ।

उनीजस्ता कोशी गाउँपालिका क्षेत्रका ११ सयबढी एकल महिला, अपाङ्ग र ज्येष्ठ नागरिकले पहिलो चौमासिक बापतको सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । चालू आर्थिक वर्षदेखि सरकारले प्रतिमहिना प्रतिव्यक्ति २ हजारका दरले सामाजिक सुरक्षाभत्ता दिने घोषणा गरेको छ । साउनदेखि कात्तिक महिनासम्म पहिलो चौमासिकमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता कोशी गाउँपालिका क्षेत्रका ज्येष्ठ नागरिकले नपाएको गुनासो गरेका हुन् । दशैंको समयमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म नपाउँदा उनीहरू निराश भएका छन् । ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता नपाउँदा जीवन निर्वाहमा समेत समस्या भएको भण्टाबारीकी सहिदा खातुन बताउँछिन् ।

भत्ता लिन भनेर धेरैपटक वार्ड कार्यालय धाए पनि कर्मचारीले माथिबाटै आएको छैन भनेपछि रित्तै फर्केको उनले बताइन् । सामाजिक सुरक्षा भत्ताबापत आएको रकमले औषधि उपचार गर्दै आएको बताउँदै खातुनले ६ महिनादेखि भत्ता नपाएकोले समस्या भएको गुनासो गरिन् । सामाजिक सुरक्षा भत्ताको रकमले एकल महिला, अपाङ्ग र जेष्ठ नागरिकले घरखर्च चलाउनेदेखि औषधोपचार गर्दै आएकोमा पहिलो चौमासिक बापतको रकम नपाएको भण्टाबारीकी फुलोदेवी खत्वे बताउँछिन् । भत्ताबापत आएको रकमले चाडपर्व मनाउने भनेर बनाएको सोच पूरा नभएको उनले बताइन् । सामाजिक सुरक्षा भत्ताको रकम आउँदा तिर्ने शर्तमा अर्काबाट उनीहरूले सापटी लिएर औषधोपचार र घरखर्च चलाएको खत्वेले बताइन् ।

गाउँपालिकाका कर्मचारीले इमानदारीपूर्वक काम गर्न नसक्दा एकल महिला, अपाङ्ग र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबापतको रकम पाउनबाट बञ्चित भएको स्थानीयको आरोप रहेको छ । पहिला घरदैलोमै पाइने सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत् वितरण गर्ने भनेपछि समस्या भएको हो । पहिलो चौमासिक भत्ताबापतको रकम कात्तिकसम्ममा पाउनुपर्नेमा हालसम्म नपाउँदा कोशी गाउँपालिका क्षेत्रका एकल महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक निराश भएका छन् । ‘बैङ्कमा लामो लाइन बस्नुपर्छ’ श्रीपुरका बिधान्न यादवले भने, ‘पुगेपनि भनेअनुसार समयमै काम हुँदैन ।’

‘अरूलाई पठाए बैङ्कले रकम दिन आनाकानी गर्छ’ उनी गुनासो गर्दै भन्छन्, ‘पहिले घर–घरमा सामाजिक सुरक्षाभत्ता रकम पाइन्थ्यो, अहिले त्यही रकम पाउन जटिल भएको छ ।’ गत आर्थिक वर्षको दोस्रो चौमासिकको अन्तिमदेखि सबै सामाजिक सुरक्षाभत्ता बैङ्कमार्फत् वितरण गर्ने भनेपछि ढिलाइ भएको जनाइएको छ । समयमै निकासा दिए पनि बैङ्कमा खाता खोल्न ढिलाइ भएकोले सामाजिक सुरक्षा भत्ताबापतको रकम पाउन समय लागेको कोशी गाउँपालिकाको कार्यालयले जनाएको छ ।