जननायक विश्वेश्वरप्रसाद कोइराला २०२५ सालमा स्वनिर्वासनका रूपमा भारत प्रवेश गरेपछि तत्कालीन पञ्चायत व्यवस्थाका हिमायतिहरू माझ एक किसिमको खैला बैला मच्चियो भने यता देशमा रहेका काङ्ग्रेसी जनहरूमा एक किसिमको नैराश्यता छायो । सबै नेता तथा कार्यकर्ता तथा सांसदहरू जेलको चिसो छिँडीमा सैनिक तानाशाह राजा महेन्द्रले चरम यातनाका साथ कैद गरेका थिए । २०१७ साल पौष १ गतेको गैर प्रजातान्त्रिक कदमको पौष महिनाको कठ्याँग्रिदो चिसोमा प्रजातान्त्रिक न्यानो सिरकको हरण भएको थियो । देश एक किसिमले भयावह अवस्थामा थियो । विस्तारै बामे सर्दै गरेको देश विकासका लयहरू लथालिङ्ग अवस्थामा पूर्ण विराम लागे । यिनै सेरोफेरोको बीच बीपी कोइराला भारतमा रहँदा र २०३३ साल पौष १६ गते देश फर्किँदाका विषयवस्तुहरूलाई लिएर यहाँ एउटा विशलेषण र विवेचना गर्ने जमर्को गरिएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका स्रष्टा समाजवादी आन्दोलनका अग्रणी व्याख्याता निष्ठा, आदर्श, सिद्धान्त व्यवहारले छपक्कै ढाकिएका, प्रजातान्त्रिक आन्दोलनका आस्थाका प्रति बीपी कोइराला आफ्नो जीवन पर्यन्त पनि नेपाली राजनीतिमा छाइरहेकै व्यक्तित्व हुन् । भारत निर्वाचनको समयमा पनि नेपाली काङ्ग्रेस र देशभित्र रहेका कार्यकर्ताहरूलाई प्रजातान्त्रिक आन्दोलन र प्रजातन्त्रको पुनस्र्थापना गर्न अथक प्रयास गर्नु भएकै हो । राष्ट्र, राष्ट्रियता प्रति सबै नेपाली समुदायलाई दृढ रहन विभिन्न पत्रपत्रिकामार्फत आफ्नो विचार र आह्वान गरेर नेपालीहरूलाई राष्ट्रिय भावनाको सञ्चार गरेको कुरा आम नेपालीले आजसम्म बिर्सेका छैनन् । बीपी कोइराला भारत बसाइको समयमा नेपालको राजनीति एक दृष्टिकोणले सुखद रह्यो रहेन, त्यसको विश्लेषण पछि गर्दै जाउँला । यसको चिरफार आउने पिँढीले पनि अवश्य नै गर्नेछन् ।
जब २०३३ साल पौष १६ गते बीपी र गणेशमान सिंह नेपाल आए तब नेपालको प्रजातान्त्रिक आन्दोलनको वृत्तमा नेपाली राजनीतिको क्षितिज केही मात्रामा उजेलिन थाल्यो । काङ्ग्रेसप्रति प्रजातन्त्रप्रति समर्पित नेता कार्यकर्ता तथा विद्यार्थी समुदायमा आशाको लहर जाग्यो । देशमा प्रजातन्त्र र पञ्चायत भन्ने विषयमा बहस टीका टीप्पणी हुन थाले । पञ्चायत समर्थक र खास गरी नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरू झस्किन र तर्सिन छोडे । एक आपसमा विस्तारै विस्तारै सम्वादको बाटा खुल्दै गयो । राष्ट्रिय मेल मिलापको कोर्स पनि बिस्तारै विस्तारै बढ्न थाल्यो । तत्कालीन परिस्थिति पनि मन्द गतिमा सङ्ग्लिन थालेको आभाष पनि टड्कारै देखिन थाल्यो ।
बीपी अमेरिका उपचारबाट फर्केपछि नेपालको राजनीति केही तरङ्गित भयो । तर, बीपी गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाबाबुको अथक प्रयासले तत्कालीन राजनीतिमा धेरै सुधारहरू आए । सबै नेताहरूको घर घरमा नेता, कार्यकर्ता, विद्यार्थी र मजदुरहरूको भीड बढ्न थाल्यो । पुनः प्रजातन्त्रको पुनस्र्थापनातर्फ सबै क्रियाशील हुन थाले । यस किसिमको माहोल खडा गर्न बीपीले अङ्गीकार गरेको ‘राष्ट्रिय मेल मिलाप’को सार्थकताले जरो गाढ्दै गयो ।
सबै नेताहरू देश दौडाहामा जाँदा राष्ट्रिय खतरा देशमा बढेको र त्यस विषयलाई निर्मूल पार्न प्रजातान्त्रिक शक्ति र राजा मिलेर राष्ट्रिय खतराको सामना गर्नुपर्छ तब मात्र एउटा स्वाधीन नेपाल सुरक्षित राख्न सकिन्छ भनी जनतालाई आग्रह गरेको देखिन्छ । बीपीको देश दौडाहाले पुनः प्रजातन्त्रको स्थापनामा सञ्जीवनी बुटीको काम गरेको थियो । तत्पश्चात् २०३६ सालको जनमसग्रह बीपीको राष्ट्रिय मेलमिलापले जन्माएको परिणाम हो भनी तत्कालीन समयमा विद्वान्हरूको राय पनि थियो ।
जब जनमत सङ्ग्रहको मत परिणामलाई बीपी कोइरालाले जनताको निर्णयलाई स्वीकार गरेर नेपालको राष्ट्रिय भावनाको कदर गरेका थिए । त्यस्तो दूरदृष्टि बीपीमा थियो । आज त्यस्तै दूरदृष्टि अपनाउने नेता नेपालमा कमै छन् । जसरी बलभद्र, अमर सिंह थापा र भक्ति थापाले अङ्ग्रेजको तोपको गोला आफ्नो छातीमा थापेर यो मुलुकको रक्षा गरेका थिए, त्यसैगरी जननेता बीपी कोइरालाले पनि आफ्नो मुलुकको रक्षा गर्न जीवनभरि लागि परेका थिए । यस्तो कर्मठ र वैचारिक उचाइ भएको महान् नेतालाई देशले असमयमा नै गुमाउनुप¥यो । आज हामी बीच बीपी छैनन् तर उनले समयानुकुल अवलम्बन गरेका नीति र सिद्धान्तले राजनैतिक निष्ठा रआदर्श व्यवहारले हामीलाई प्रेरणा प्रदान गरिरहेका छन्, मार्गदर्शन गर्दै छन् ।
तर, २०४८ सालदेखि करिब २५ वर्ष नेपाली काङ्ग्रेस सत्तामा रहँदा पनि बीपीको आदर्श निष्ठा, सिद्धान्त र व्यवहारलाई उनकै अनुज गिरिजाप्रसाद कोइरालाबाट पनि अवलम्बन गरिएन । तत्पश्चात् राष्ट्रले विभिन्न समस्याहरू झेल्नु प¥यो । इतिहासले २०४८ देखि विभिन्न समयमा नेपाली काङ्ग्रेसको सरकारको कुन अक्षरमा लेखाजोखा गर्ने हो, त्यो समयले नै बताउला । बीपीले १५ वर्षभित्र गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारका अवसरलाई सबै नेपालीहरूका माझ पु¥याउने प्रण गर्नु भएको थियो तर २५ वर्ष नेपाली काङ्ग्रेस सत्तामा रहेर पनि जनताका आधारभूत समस्या प्रति कहिल्यै चनाखो भएन । जसको परिणाम नेपाली जनताले भोगिरहनु परेको छ ।
नेपाली काङ्ग्रेसमा युवाहरूको सोच पनि बीपीका सोचभन्दा फरक छ । सबै युवा नेतृत्वहरू सत्ताकै मोहमा छन् । सबैले कसै न कसैको दौराको फेर पकडेर बसेका छन् । आज पार्टी सिद्धान्तविहीन छ । तँ भन्दा म के कम भन्दै पार्टीलाई पेवा बनाउन उद्धत छन् । नेपाली काङ्ग्रेस पार्टीलाई वर्तमान नेतृत्वले चौरास्तामा लगेर उभ्याएका छन् ।
बीपी, गणेशमान, सुवर्ण, कृष्णप्रसाद भट्टराई र अन्य नेताहरूले आफ्नो जीवनको बाजी लगाएर संरक्षण र सम्बद्र्धन गरेको पार्टीको भविष्य भोलि के हुनेछ, त्यो भविष्यको गर्तमा अलमलिने अवस्थामा छ । अन्त्यमा बीपीको त्याग तपस्या र राष्ट्रिय मेलमिलापको नाराले सार्थकता पाओस् र आउने दिनहरूमा सबै राजनैतिक दलहरू मिलेर संविधान कार्यान्वयन गरी समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सकून् । राष्ट्रिय मेलमिलाप नीतिको सार्थकता पनि यसैमा छ । यही गर्न सकियो भने वीपीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।