पथरीशनिश्चरे । प्रदेश सरकारमार्फत मोरङको पथरीशनिश्चरे नगरमा ७ किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।

नगरलाई पक्की सडक सञ्जालले जोडने कसीका रुपमा रहेको शनिश्चरे बजार–सोमबारे– शिरिसेडाँडा–किराँती चौक हुँदै विरेन्द्रनगर जोडने कालोपत्रे सो सडक शिलान्यास गरिएको छ ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले सडक शिलान्यासका क्रममा बोल्दै देश संघीय व्यवस्थामा गएपछि विकासले फड्को मारेको वताए । प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा कम्तीमा एक एक वटा १० किलोमिटर सम्मका सडक निर्माण कार्य सुरु गरिएको पनि उनले प्रष्ट्याए । पूर्वाधार निर्माणसंगै शहरी विकासको गुरुयोजना निर्माण क्रममा रहेको पनि सुनाए ।

१ सय ३७ वटै स्थानीय निकायलाई पक्की सडक सञ्जालले जोड्ने गरी १० वर्षीय सडक निर्माण कार्यक्रमका लागि ३ खर्ब रुपियाँको गुरुयोजना बनिसकेको उल्लेख गरे । आर्थिक वर्ष ०७५/०७६ शिलान्यासको वर्ष हुने र ०७७/०७८ उद्घाटनको वर्ष हुने दाबी गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्यत्रय सुयर्माराज राई, कृष्णकुमारी राई र शेखरचन्द्र थापा, नगर प्रमुख दिलिपकुमार राई लगायतले बोल्दै विकासमा सवैको सहकार्य आवश्यक रहेको चर्चा गरे ।

श्रेष्ठ खुस्बु जेवी कन्ट्रक्सनले २७ करोड ८२ लाख रुपियाँको लागतमा १० किलोमिटर लम्वाईको सडक २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । सडकले नगरका वार्ड नं ८,४,५,३,७ र २ न वडालाई जोड्ने छ । पथरी शनिश्चरेका ४ ठूला सडक उत्तर दक्षिणणका भएको भए पनि यो सडकले नगरका पथरी बजार बाहेकका साना बजारलाई जोडने छ ।