बिर्तामोड । बिर्तामोडका युवाहरुको एक समुहले सरकारी विद्यालयमा अध्ययनरत बिपन्न समुदायका बालबालिकाका लागि न्यानो कपडा र शैक्षिक सामग्री बितरण अभियान सञ्चालन गरेको छ ।

एकसातादेखि अभियान शुरु गरेका युवाहरुले हालसम्म ९ सय बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको जनाएका छन् । उनीहरुले शुरु गरेको अभियानलाई सहयोगीहरुले पनि साथ दिएको अभियानका संयोजक सरोज पौडेलले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा बिपन्न बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण शुरु गर्ने सुचना लेखेपछि अधिकांस दाताहरुले आफै सम्पर्क गरेर सहयोग गरेको समेत बताए ।

‘हामीले सहयोग संकलन गर्दै बितरण गरेको जानकारी फेसबुकमा पोष्ट गथ्र्याैं, अभियन्ता पौडेलले भने–‘कतिपय दाताहरुले पोष्ट हेरेकै आधारमा हामीलाई सम्पर्क गरेर सहयोग गर्नु भएको छ ।’ उनले दातासँग सहयोग मागेर बिपन्न समुदायका बिद्यार्थीलाई शैक्षिक सामग्री बाँड्न थालेपछि बिर्तामोड नगरपालिकाले पनि आफै बोलाएर एक लाख रुपैंयाँको कपडा र शैक्षिक सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । सरकारी स्तरबाट सहयोगको आश्वासन पाएका उनीहरु हौसिएर एक हजार भन्दा बढी बिद्यार्थीलाई सामग्री प्रदान गर्ने अभियानमा दिन रात खटिरहेको बताउँछन् ।

IMG20191223133738

सरकारी विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीलाई न्यानो कपडा बाँड्ने अभियानमा बिर्तामोड नगरपालिकाले एकलाख रुपैयाँ सहयोग गरेको उपप्रमुख पवित्रा महताराले बताइन् । ‘विपन्न बालबालिकाले जाडोमा काम्दै स्कूल आउनुपर्ने बाध्यता छ’, उनले भनिन, ‘यसको अन्त्यका लागि सामाजिक अभियन्ताहरुले थालेको अभियानमा नगरपालिकाले पनि सहयोग गरेको हो ।’ उनले विद्यालय शिक्षाको गुणस्तर सुधार्न नगरपालिका सधैँ गम्भीर र चनाखो रहेको बताइन् । जाडो मौसम शुरु भएसँगै न्यानो कपडाको अभावमा बिपन्न बालबालिकाको अवस्था दयनीय भइरहेका बेला स्वतस्फूर्त रुपमा अभियान चलाइएको अभियानका संयोजक पौडेल बताउँछन् ।

उनको अग्रसरतामा थालिएको अभियानमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वले सहयोग गरेका छन् । ‘कसैले आर्थिक त कसैले न्यानो कपडा दिएर अभियानमा सहयोग गरिरहनु भएको छ’, संयोजक पौडेलले भने, ‘पसलमा केही बाँकी तिर्नु छ, सहयोग जुट्ने क्रम पनि जारी छ ।’ उनले थप सहयोगका लागि अपिल गर्दै सहयोगीलाई धन्यवाद पनि दिएका छन् ।

अभियानका कोषाध्यक्ष किशोर पौडेलका अनुसार यसपटक सरकारी विद्यालयमा अध्ययनरत एकहजारभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा बितरण गर्ने लक्ष्य राखिएको छ । अभियानको लक्ष्य अनुसार सहयोग मिलिरहेको पौडेलले बताए । ‘जाडोका तीन महिना बालबालिकाले चिसोका कारण के पढ्दै छु भन्ने पनि थाहा पाउँदैनन्, कपडा अभावमा बालबालिकाले यातना खेप्नु नपरोस भन्ने हाम्रो चाहना हो,’ पौडेलले भने, ‘सकेसम्म धेरै विद्यार्थीलाई अभियानमार्फत समेट्ने लक्ष्य छ ।

‘कतिपय बिद्यार्थीसँग घरमा बस्दा लगाउने तातो कपडा समेत नभएको पाइयो, अर्का अभियन्ता अविरल कृष्ण खरेलले भने–‘यसबर्ष हामी जति बिद्यालयमा गयौं नि, बिद्यार्थीको हालत देखेर अभियान स्थगित गर्न सक्ने अवस्थामा छैनौ । उनले अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने जानकारी दिए । समुहले हालसम्म ८ वटा बिद्यालयमा तीनलाख रुपैयाँको सामग्री बितरण गरेको जनाएको छ । बिद्यालयमा आफै गएर शैक्षिक सामग्री बितरण गर्न पाउँदा खुशी लागेको एकजना दाता अनिता गौतमले बताइन् । अभियानका लागि बिर्तामोडका ब्यवसायी तथा नेपाल अलैची ब्यवसायी महासंघका महासचिब सुवास भट्टराईले २० हजार वटा कापी प्रदान गरेको जनाएका छन् । कपडासँगै एकजना बिद्यार्थीलाई २० प्रतिका दरले कापी पनि प्रदान गर्दै आएको अभियन्ताहरुले जनाएका छन् ।

अभियानका अर्का सदस्य केशव ढुङगानाले हुँने खाने भन्दा हुँदा खाने समुदायका बिद्यार्थी सामुदायिक बिद्यालयमा अध्ययन गर्ने गरेकाले ति बिद्यार्थीले मानसिक रुपमा पनि कमजोर महसुस गर्ने गरेको पाइएको बताए । जिल्लाभर रहेका बिभिन्न संघ संस्था र ब्यक्तिहरुले स्वत स्फुर्त सहयोग गर्न थालेकोमा धन्यवाद प्रदान गरेका छन् ।