केहीदिन अघि गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहको सम्बन्ध विच्छेद भएको खबर सार्वजनिक भयो । तर यो खबरले ढकाल परिवारलाई तनाव दियो ।

अदालतको रेकर्डअनुसार ढकाल दम्पतीले कानूनी रूपमा सम्बन्ध विच्छेद नै गरेका छन् । तर उनीहरू सँगै बस्दै आएका छन् । उनीहरू यतिबेला सामाजिक सञ्जाल र समाचारका कारण तनावमा छन् ।

गायक ढकालले त सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि आफूले डिभोर्स नगरेको प्रतिक्रिया समेत दिए । उनले आफू पत्नी र छोरीसँगै बसिरहेको बताएका छन् । सम्बन्ध विच्छेदको खबर सार्वजनिक भएपछि ढकालले फेसबुकमा पत्नी निलमसहितको फोटो राख्दै लेखेका थिए, ‘अरूले के भन्छन्, मतलव भएन तर हाम्रो सम्बन्ध कहिल्यै मर्र्दैन ।’

कानूनी आधार बनाएर विभिन्न टिप्पणी हुन थालेपछि उनले सामाजिक सञ्जालमार्फत् पुनः लेखे, ‘पछिल्लो समय म र मेरो जीवन सङ्गीनीको सम्बन्धलाई लिएर समाचारहरू बनेका छन्, ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् ।’

उनले सामाजिक सञ्जाल र समाचारलाई आधार बनाएर ‘नकारात्मक टिप्पणी नगर्न’ पनि अनुरोध गरेका थिए । तर, ढकाल र पत्नी निलमको विषयमा गसिप बन्न छोडेनन् । कानूनी रूपमा भने निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको देखिन्छ ।

०७६ सिपी ३१८८ दर्ता नम्बर मुद्दाको पेशी सूचीको कैफियत खण्डमा ‘फैसला/अन्तिम आदेश–मिलापत्र’ भनी जिल्ला अदालत काठमाडौंले भनेको छ ।

सम्बन्ध विच्छेदको खबरले आजित भएर ढकाल पत्नी निलमले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिएकी छन् । उनले पनि आफूहरूले डिभोर्स नगरेको दाबी गरेकी छन् । उनले मिडियामा आइरहेका समाचार र भइरहेका सार्वजनिक टिप्पणीले ‘सताइएको’ बताएकी छिन् ।

निलमले भनेकी छन्, ‘हाम्रो एक सानो तर खुशी परिवार हो, यदि मिडिया र व्यक्तिले हाम्रो परिवारलाई निरन्तर आक्रमण गर्न रोक्नुभयो भने हामी यसको कदर गर्र्छौं ।’

निलमले सामाजिक सञ्जालमार्फत् यो हल्ला निराधार, भावनाहीन र हास्यास्पद भएको प्रतिक्रिया दिएकी छन् । अदालतले डिभोर्स गरेको भने पनि गायक ढकाल र उनकी पत्नीले भने नछुट्टिएको बताइरहेका छन् ।