पथरीशनिश्चरे / नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा मोरङ्ग पथरीशनिश्चरेका अशोक शंकर विजयी बनेका छन् ।
चितवनको रत्ननगरमा शनिबार सम्पन्न ४६ औ चुनावी राष्ट्रिय महाअधिवेशन मार्फत ३७ वर्षका शंकर विजयी बनेका हुन । पथरी जेसीजका सस्थापक अध्यक्ष रहेका कुशल युवा व्यवसायी शंकरले २ प्रतिद्वन्दीलाई पछि पर्दै नेपाल जेसीजको बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित बनेका छन् ।

महाअधिवेशनमा शंकरले चितवनको बीस हजार जेसीजका अरुणेश्वर खनाल र काभ्रे जेसीजका विकास मानन्धरलाई पराजित गर्दै जित हात पारे । जम्मा १ हजार ५ सय ६५ मतदाताले गरेको मतदानबाट शंकरले ५ सय ५१ मत प्राप्त गरेका छन भने पराजित विकास मानन्धरले ४८७ र अरुणेश्वर खनालले ५२७ मत प्राप्त गरेका थिए । महाधिवेशन पुस ९ देखि १२ सम्म संचालित थियो ।

युवाहरुलाइ उद्यमशील बनाउने लक्ष लिएका पथरीशनिश्चरे १ निवासी शंकरलाई जिताउन पूर्वी क्षेत्रको एरिया क बाट विशेष अभियान संचालन गरिएको थियोे । पथरीशनिश्चरेका दल, संघ सस्था, सामाजिक अगुवाहरु सम्मिलित समितिले अभियान चलाएको थियो । त्यसमा जनप्रतिनिधिले समेत साथ दिएका थिए ।
स्थानीय पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्पक अर्जुन बुढाथोकीको अध्यक्ष्यतामा १ सय १ सदस्यीय मुल समिति र २१ सदस्यीय सचिवालय समिति गठन गरेर शंकर जिताउ अभियान समिति बनाइएको थियो। समितीमा पथरीशनिश्चरे नगर भित्रका संघ संस्था र राजनैतिक दलका प्रतिनिधीले नेतृत्व गरेका थिए ।
नगर प्रमुख दिलिपकुमार राई सहित मोरङ्गका उर्लावारी, कानेपोखरी, वेलवारी, सुन्दरहरौचा, लेटाङ्ग, मिक्लाजुङ्ग र सुनवर्सी रतुवामाईका नगरप्रमुख सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको छ ।
स्पष्ट वक्ता ,मिजासिला, सफल उधमी साथै कुशल नेतृत्व क्षमता भएका शंकरले सन् २०११ मा पथरी जेसीजको संस्थापक अध्यक्ष हुदै नेपाल जेसिजको वर्ष २०१४ राष्ट्रिय उपाध्यक्ष साथै वर्ष २०१८ मा राष्ट्रिय कार्यकारी उपाध्यक्ष भएर कुशलातापूर्वक कार्य सम्पादन गरेका थिए ।