इटहरी / रानी–विराटनगर–धरान सडक ८२ फुटको सडक निर्माण गर्ने आयोजनाले जिम्मा पाएको भए पनि इटहरीको मुख्यचोकमा ६५ फिट मात्र कायम गरेर अहिले धमाधम सडक निर्माण भईरहेको छ ।
आयोजनाको डिपिआरमा र राजपत्रमै सडकको दायाँ-बायाँ २५-२५ मिटर कायम गरिएको भएपनि अहिले सडकको दायाँ-बाँया २० मिटरमा खुम्च्याउँदै आएको भन्दै विवाद हुँदै आएको छ।

सडक निमार्णमा इटहरी र तरहरामा एकरुपता कायम गर्नुपर्ने भन्दै इटहरीका युवाले यहाँका सबै राजनीतिक दलको उपस्थितिमा संघर्ष समिति निर्माण गरी केही सातायता दबाब दिईरहेका छन् । यसअघि समितिले उपमहानगर, आयोजना कार्यालय र मुख्यमन्त्री शेरधन राईलाई समेत ज्ञापनपत्र बुझाइसकेको समितिका संयोजक मदन चुडालले बताएका छन् ।

उनका अनुसार आँफूहरुले सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाएको भएपनि सडक आयोजना प्रमुख बद्री प्रसाद शर्माको आधिकारिक धारणा नआएको भन्दै बिहीबार आयोजना कार्यालयका प्रमुख र इन्जिनियरहरु सहित छलफल भएको थियो ।

छलफलमा आयोजना प्रमुख शर्माले आँफूहरु सडक मापदण्ड अनुसार नै बनाउन चाहेको भएपनि यहाँको स्थानीय सरकारले खुलेर सहयोग नगर्दा अफ्ट्यारो भएको बताए । उनले भने, हामीले राजपत्रमा भएअनुसार नै काम गर्न चाहेको हो, तर स्थानीय सरकारबाट अपेक्षा गरेअनुसारको सहयोग नहुँदा समस्या छ । उनले तरहराको पानीपियासम्म जम्मा २५-२५ मिटर नैं दायाँ-बायाँ सडक निर्माण भएको बताए ।

शर्माले भने, स्थानीय सरकार र अन्य सर्वसाधारणको सहयोग भएमा योजना अनुसार नै काम हुनेछ । यता, संघर्ष समितिका संयोजक चुडालले भने सडक बराबर नभए आँफूहरु जस्तोसुकै दबाबमुलक कार्यक्रम गर्न पनि पछि नहट्ने तर्क गरे ।