काठमाडौँ/ स्वास्थ्यकर्मी सन्तोष उपाध्याय मिस्टर नेपाल बनेका छन् ।
एक्सपोज नेपालको आयोजनामा बिहीबार राति होटल अन्नपूर्णमा सम्पन्न फाइनल स्पर्धामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस्टर नेपालको उपाधि जितेका हुन् । उनी टाइटलतर्फ मोष्टट्यालेण्ट र मोष्ट फोटोजेनिकसमेत बनेका छन् । उपाधि विजेता उपाध्यायले मोटरसाइकलसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

दिलराज न्यौपाने फस्ट रनरअप बन्दा विमल पाण्डे सेकेण्ड रनरअप चुनिए । त्यस्तै प्रिन्स अभी थर्ड रनर अप र अविनाश चौधरी फोर्थ रनर अप घोषित भएका थिए । विजेताहरूलाई एक्सपोज नेपालकी प्रमुख कार्यकारी अधिकृत अर्चना थापा, निर्देशकहरू रविन्द्र श्रेष्ठ, प्रकाश पुन, सुशील पाण्डे लगायतले पुरस्कार प्रदान गरेका छन् ।

विजेता उपाध्यायले ‘मिस्टर वल्र्ड’ लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । टाइटलतर्फ बेस्ट ट्रेडिसनल वेयर अरुणकुमार डङ्गोल, मिष्टर स्पोर्ट्स लोकेसराज श्रेष्ठ, मिष्टर कञ्जिइनेट्ली विजय लामा, बेस्ट मोडल राहुल सिंह राजपुत, मिष्टर मल्टिमिडिया हिट शङ्कर कुलङ, मिष्टर फिटनेश विमल पाण्डे, मिष्टर डिजीपेय पपुलर अविनाश चौधरीले जितेका छन् । ‘मिष्टर नेपाल’ प्रतियोगिता २००१ देखि हुँदै आएको छ ।