भण्टाबारी/ कोशी गाउँपालिका वडा नं.७ स्थित हरिपुरमा निर्मित खानेपानी आयोजना प्रयोगमा नआउँदै जीर्ण बनेको छ । स्वच्छ पानी पिउने सेवाग्राहीको धोको पूरा हुन नपाउँदै ६ वर्षअघि निर्माण गरिएको खानेपानी आयोजनाका पाइपलगायतका सामग्री जीर्ण बनेको हो । २०७१ सालमा तत्कालीन सुनसरीको हरिपुर र श्रीपुरमा गाविसका जनतालाई सेवा दिने उद्देश्यले २ करोड लागतमा निर्मित खानेपानी आयोजना जीर्ण अवस्थामा रहेको स्थानीयले बताए ।

ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ पानी वितरण गर्न निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा नआउँदै जीर्ण बनेको स्थानीय प्रवीण पाठकले बताए । ६ वर्षअघि खानेपानी आयोजना निर्माण भए पनि स्वच्छ पानी पिउने धोको पूरा हुन नसकेको उनले गुनासो गरे ।

उपभोक्ता समितिमार्फत् खानेपानी आयोजना निर्माण गरिएको बताउँदै स्थानीय युवा पाठकले २०६६ सालमा निर्माण शुरु भई २०७० सालमा निर्माणकार्य सकिए पनि हरिपुर क्षेत्रका जनता अझै स्वच्छ पानी पिउन प्रतिक्षारत रहेको बताए । स्वच्छ पानी जनताको घर–घरमा पु¥याउने उद्देश्यले कोशी गाउँपालिका क्षेत्रमा निर्मित हरिपुरको खानेपानी आयोजना जीर्ण छ भने भण्टाबारी र लौकहीको खानेपानी आयोजनासमेत सञ्चालनमा आएको छैन । जसले गर्दा करोडौं लागतमा निर्मित खानेपानी आयोजना प्रयोगविहीन भएको छ । कोशी गाउँपालिका–८ स्थित भण्टाबारी–७ हरिपुर र वडानम्बर १ लौकहीको खानेपानी आयोजना निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दासमेत प्रयोगविहीन अवस्थामा रहेका छन् ।

एक दशक अघिसम्म खानेपानी आयोजना नहुँदा यसक्षेत्रका जनता स्वच्छ पिउने पानीबाट बञ्चित थिए भने खानेपानी आयोजना सम्पन्न भइसक्दासमेत अवस्था उस्तै छ । लगभग ११ वर्षअगाडि २०६५ साल भदौमा आएको विनाशकारी बाढीपश्चात् जनताको घरमा स्वच्छ पानी पु¥याउने उद्देश्यले निर्माण गरिएका खानेपानी अझैसम्म सञ्चालनमा आएका छैनन् । भण्टाबारीको खानेपानी आयोजना केही समयको लागि प्रयोगमा आए पनि हाल प्रयोगविहीन नै छ भने हरिपुर र लौकहीमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा नआउँदै जीर्ण बनेको हो ।

प्रदूषणयुक्त पानी पिउन बाध्य ती क्षेत्रका सर्वसाधारणले खानेपानी आयोजना निर्माण भएपछि स्वच्छ पानी पिउने र रोगबाट बच्ने आशा गरे पनि त्यो पूरा हुन नपाउँदै खानेपानी आयोजनाको भवनदेखि जडान गरिएका पाइप जीर्ण बनेको हरिपुरका समानन्द ठाकुरले बताए । स्वच्छ खानेपानी अभावमा ती क्षेत्रका सर्वसाधारण विभिन्न रोगबाट ग्रसित हुनुपर्ने अवस्था यथावत् रहेको कोशी गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र महतो बताउँछन् । उनले भने, ‘दलित समुदायको बसोबास भएको क्षेत्र भएकोले उनीहरूमा चेतनाको अभाव छँदैछ, झन् खानेपानी सञ्चालनमा नआउँदा बिरामीको चाप बढ्दो छ ।’

मर्मतसम्भार गर्न ५४ लाख लाग्ने
निर्माणकार्य सकिए पनि सञ्चालनमा नआउँदै जीर्ण बनेको हरिपुरको खानेपानी आयोजना सञ्चालनमा ल्याउन जनप्रतिनिधिले चासो देखाएका छन् । खानेपानी आयोजनाका पुराना सबै सामान जीर्ण बनिसकेको हुँदा नयाँ जडान गर्न ५४ लाख आवश्यक पर्ने वडाध्यक्ष महतोको भनाइ छ । पटक–पटक खानेपानी सञ्चालनमा ल्याउन ताकेता गरेपछि गाउँपालिकाको कार्यालयबाट आएको प्राविधिक टोलीले खानेपानी आयोजना मर्मत गर्न ५४ लाख लाग्ने बताएको उनले बताए । खानेपानी आयोजना सञ्चालनमा ल्याउन आफूले प्रयास गर्दै आए पनि गाउँपालिकाको कार्यालयले तत्काल बनाउने अवस्था नरहेकोे महतो बताउँछन् । ‘पटक–पटक गाउँपालिकाको कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छु’ उनले भने, ‘गाउँपालिकाको कार्यालयले गाउँपालिकाभित्रका खानेपानी मर्मत गर्न यो वर्ष २५ लाख मात्र छुट्याएको छ ।’

यसैगरी कोशी गाउँपालिका–१ स्थित लौकहीमा निर्माण भएको खानेपानी आयोजना ६ वर्ष बितिसक्दासमेत सुचारु भएको छैन । कोशी गाउँपालिका वडानम्बर ८ भण्टाबारीमा ३ करोड लागतमा निर्माण गरिएको खानेपानीको अवस्था पनि त्यस्तै छ । खानेपानी आयोजना निर्माण भएको ८ वर्ष बित्यो तर यी क्षेत्रका सर्वसाधारण आयोजनाबारे अनभिज्ञ नै छन् । २०६८ सालमा निर्माण गरिएको खानेपानी आयोजना सुचारु भए पनि पाइप जडान गर्न भन्दै रोकिएको खानेपानी आयोजना पुनः सञ्चालनमा आएको छैन । कोशी गाउँपालिकाको १० लाख तथा अन्य विभिन्न विदेशी संस्थाको १८ लाख सहयोग गरी जम्मा २८ लाख लागतमा ६ किलोमिटरमा नयाँ पाइप जडान गरिने भनिए पनि उक्त कार्यले गति लिन नसक्दा उपभोक्ता दूषित पानी पिउन बाध्य छन् ।