भद्रपुर/ नेपालको झापा घुम्न आएका ५ विदेशी नागरिकले बाटो बिर्सिंदा उनीहरूलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । युक्रेनी नागरिक रहेका २ महिला र ३ पुरुषलाई नेपालको सीमा नाघेपछि भारतीय एसएसबीले नियन्त्रणमा लिएर स्थानीय भारतीय सुखानी थाना प्रहरीमा बुझाएको छ ।

पक्राउ पर्नेमा ३० वर्षीया मेरिना रुडियुक, ३३ वर्षीय भोलोडिमार कोभालचुक, ३५ वर्षीया लिलिया कोभालचुक, ३५ वर्षीय ओलेक्जेण्डर कोपटिभ र २६ वर्षीय इभान सेच रहेका छन् ।

घटना विवरणअनुसार बुधबार झापाको बनियानीमा रहेको होली फिल्ड स्कुलमा भोलेन्टियर काम गर्ने युक्रेनका २ शिक्षिका साथीलाई भेट्न उनीहरू स्कुल पुगेका थिए । त्यहाँबाट नजिकै रहेको नेपालको होचो भू–भाग केचना घुम्न २ वटा मोटरसाइकलमा नेपाल–भारत सीमाको ५० मिटर अघि बढेर फर्किन खोज्दा बाटो बिर्सिएपछि उनीहरूलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको थियो ।

भारत प्रवेश गर्ने अनुमति प्रमाण नभएपछि मे.५ प ४८० र मे.६ प ५८७९ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूलाई एसएसबीले सुखानी थानामा जिम्मा लगाएको थियो । पक्राउ परेका विदेशी नागरिकहरूसँग ११ नोभेम्बरमा नेपाल आएको र १५ दिनको नेपाल भ्रमण गर्ने भिसा अनुमति रहेको छ ।

बिहीबार बिहान नेपाल प्रहरीले भारतीय समकक्षीसँग कुरा गरे पनि माथिल्लो निकायमा जानकारी गराइ सकेकोले उनीहरूलाई किशनगञ्ज जिल्ला अदालतमा बुझाइसकेको जानकारी दिएको छ । सिमाना पत्ता लगाउन नसकेका कारण भारत प्रवेश गरेपछि भारतीय प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।