धरान (ब्लाष्ट) सामुदायिक स्कुल भन्ने बित्तिकै पढाइ नहुने, राजनीतिको अखडा भएको भन्ने आम बुझाइ छ । तर, सुनसरी वराहक्षेत्र–५ स्थित जगन्नाथ डेडराज जनता (जडेज) मावि पुग्ने जोकोहीलाई त्यो बुझाइ गलत सावित हुनसक्छ ।

२०७१ सालसम्म करिब साढे ८ सय विद्यार्थी भएको जडेजमा अहिले एक हजार ६ सय ८७ जना विद्यार्थी छन् । जहाँ बोर्डिङ स्कुल छाडेर विद्यार्थीहरू आउन थालेका छन् । माविका प्रधानाध्यापक हीरामणि पौडेलका अनुसार बोर्डिङ छाडेर २ सय ४० भन्दा बढी विद्यार्थी जडेजमा आएका छन् । साइकलमा करिब आधाघण्टाको दूरीबाट विद्यार्थीहरू अहिले जडेजमा पढ्नका लागि आइपुग्छन् । कुनै समय थियो, प्रअ पौडेल उदयपुरको लक्ष्मीपुर माविमा रहँदा एक विद्यार्थीले जडेज स्कुल नजान सल्लाह दिएका थिए । त्यो कुरा स्मरण गर्दै प्रअ पौडेल भन्छन्, ‘म उदयपुरको स्कुलमा हुँदा यतै पढेर गएकी एक छात्राले त्यस्तो खत्तम स्कुल पनि जाने हो सर ! भनेर भनेकी थिइन् ।’

शुरुका अवस्थामा ३ महिना काजमा बसेका उनलाई विद्यालय व्यवस्थापन समिति र नगरपालिकाका मेयर निलम खनाललगायतको टिमले साथ दियो । त्यही टिमका कारण उनले विद्यालयलाई नयाँ सोचले विस्तार गर्ने बारे सोचे । विद्यार्थीहरूसँग अन्तरक्रिया गरे । विद्यार्थीहरूलाई खुलेर आफ्ना कुरा राख्नका लागि सुझाव दिए । त्यहाँ विद्यार्थीहरूले शिक्षकहरूको गुण र दोषबारे बताइदिए । शिक्षकहरू विद्यालय नआउने, कक्षाकोठामा नपढाउनेजस्ता बेथिति थिए । त्यस्ता बेथितिको अन्त्य गर्दै पठन–पाठनमा नयाँ सोच ल्याएको उनी बताउँछन् ।

हरेक दुई घण्टीपछि शिक्षक र विद्यार्थीलाई नै ५ मिनेट छुट्टीको व्यवस्था गरिएको छ । जहाँ हरेक कक्षामा विद्यार्थीहरूले नै शिक्षकहरूको हाजिर गर्ने व्यवस्था गरिएको छ । कक्षा ३ भन्दा माथिका तहमा प्रत्येक घण्टीमा को शिक्षक कति समय बसे भन्नेसम्मको लगबुक राखिएको छ । ‘गुरुको लागि नै लगबुक राखिएको छ’ –४० वर्षदेखि अध्यापनरत शिक्षक दिनेशकुमार साह भन्छन् । उनका अनुसार आधारभूत तहमा पनि अहिले न्यूनतम् ३० देखि माथि विद्यार्थीहरू छन् । सबैभन्दा बढी मावि तहमा छन् । त्यसका अलावा जडेजमा व्यवस्थापन, मानविकी, विज्ञान तथा शिक्षा सङ्कायमा ११ र १२ पढाइ हुन्छ । एक वर्षअघिबाट प्राविधिकतर्फ तीन वर्षे बाली विज्ञान र यो शैक्षिक सत्रबाट पशु विज्ञान पनि पढाउने तयारी थालिएको छ । जसमा ४० जनाको कोटा रहेको प्रअ पौडेल बताउँछन् ।

विद्यालयले शिक्षक, विद्यार्थीहरूमा कडा अनुशासन कायम गरेको छ । १० बजे विद्यार्थी तथा शिक्षक स्कुलमा प्रवेश गरिसकेपछि ४ बजेसम्म प्रवेशद्वार पूर्णरूपमा बन्द गरिने नियम बनाइएको छ । प्लेग्रुपदेखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरिएको छ । उक्त कक्षा पनि निःशुल्क गरिएको छ । गुनासो पेटिका र गुनासो सुन्ने अधिकारी छुट्टै राखिएको छ । अभिभावक, विद्यार्थी, शिक्षकहरूको केही गुनासो भएमा सुझाव पेटिका वा अधिकारीलाई प्रश्न राख्न पाउने व्यवस्था गरेको छ । स्कुलमा वराहक्षेत्र–३, ४, ५, ७ र ८ नम्बर वडाबासीहरू जडेज पढ्नका लागि आइपुग्छन् भने रामधुनी नगरपालिकाको ७ नम्बरका बालबालिकाहरू पनि आइपुग्ने गरेका छन् । विद्यालयलाई नमूना बनाउनका लागि शिक्षकहरूको समूह कार्य (टिमवर्क) ले मात्रै सम्भव भएको प्रअ पौडेलको भनाइ छ ।

प्रअ पौडेलका अनुसार शिक्षकहरूलाई केही नियमहरू बनाइएका छन् । जस्तो पेशाप्रति बफादार हुनुपर्ने, सरकारले केही गरेन भनेर दोषारोपण मात्रै नगरी आफूले के गरियो, समयको ख्याल, बच्चाप्रति पारिवारिक व्यवहारलगायत छन् । ‘पहिलो कुरा टिचर नै प्रतिबद्ध हुनुपर्छ । अनि मात्रै शैक्षिक गुणस्तर सुधार गर्न सकिने रहेछ, हामीले गरेको त्यही हो’–उनी भन्छन् । अहिले हरेक कक्षामा प्रोजेक्टरमार्फत् अध्यापन गराउने तयारी थालिएको छ । युट्युबबाट अध्यापन गराउने गरी हरेक कक्षा कोठामा इन्टरनेट जडान गर्ने तयारी थालेको प्रअ पौडेलले बताए ।

‘प्रविधिमैत्री शिक्षा बनाउने तयारीमा छौं, हरेक कक्षामा हामीले प्रोजेक्टर जडान गरिसकेका छौं, अब हिजोको परम्परागत पढाइले हुँदैन भन्ने हाम्रो निष्कर्ष हो’–उनी भन्छन् । अहिले विद्यालयका लागि विद्यार्थीहरू खोजिरहनु पर्ने आवश्यकता नै हुन छाडेको अनुभव शिक्षकहरूले गरिरहेका छन् । कतिपय निजी स्कुलहरूले घरदैलो कार्यक्रम नगरीदिन आग्रह गरेको प्रअ बताउँछन् । केही वर्षसम्म घरदैलो कार्यक्रम पनि गर्दै आएका थिए भने यो वर्षबाट घरदैलो कार्यक्रम नगरी चोक–चोकमा कार्यक्रम गरेर विद्यार्थीहरूलाई आकर्षण गर्ने कार्यक्रम तयारी गरिरहेको प्रअ बताउँछन् ।

प्रअ पौडेल आएपछि भएको यो परिवर्तनकै कारण सङ्घीय सरकार अन्तर्गत रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले दुई पटक जिल्ला प्रथम विद्यालय घोषित गरेको छ । केन्द्रका ८४ वटा सूचकहरूमा २०७४ सालमा ९० दशमलव ९३ अङ्क ल्याउँदै सुनसरी प्रथम बनेर ५ लाख रुपैयाँ नगद प्राप्त गरेको थियो । त्यस्तै २०७५ सालमा पनि जिल्ला प्रथम बन्दै नगद २ लाख रुपैयाँ प्राप्त गरेको थियो । ‘यो सबै सरहरूको सहयोगले सम्भव हुन सकेको हो’ –उनी भन्छन् । अहिले प्रदेशकै नमूना सामुदायिक विद्यालय बनाउने अभियानमा जुटेका छन् । व्यवस्थित पुस्तकालय, हरेक कक्षामा प्रोजेक्टरमार्फत् पढाइ, युट्युबबाट पढ्ने व्यवस्था गर्ने तयारीमा स्कुल जुटेको छ ।