धरान । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन अझै केही दिन सक्रिय हुने संकेत गरेको छ ।

नेपालमा औसत मनसुनको शुरुवात जुन १० बाट प्रारम्भ भई सेप्टेम्बर २३ सम्म कायम रहने भए पनि यसवर्ष ढिला गरी शुरुवात भएकाले अझै लम्बिन सक्ने संकेत देखिएको हो । मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा विस्तारै हट्दै जानु पर्ने भए पनि त्यस्तो अवस्था नदेखिएको महाशाखाकी वरिष्ठ मौसमविद् शान्ती कँडेलले जानकारी दिइन् । दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन शुरू हुनुपर्ने भए पनि हाल त्यो अवस्था नरहेको कँडेलको भनाइ छ ।

यो वर्ष अक्टोबरसम्म मनसुन पुग्न सक्ने संकेत देखिएको महाशाखाले जनाएको छ । मनसुन सक्रिय हुँदा कृषिमा असर परेको छ भने मानिसको दैनिक जीवनमा पनि प्रत्यक्ष असर पुगेको छ । नेपालीको चाड दशैंलाई प्रभावित बनाउने संकेत देखिएको छ ।