पाँचथर । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको पूर्वी खण्डको ६६ किलोमिटर कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
लोकमार्गको शुरुवाती बिन्दु पाँचथरको चिवाभञ्ज्याङदेखि भोजपुरको चखेवाघाटसम्मको तीन सय ८६ किलोमिटरमध्ये ६६ किलोमिटर कालोपत्रे गरिसकिएको हो । फिदिमस्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालयका अनुसार पाँचथर खण्डको एक सय ११ किलोमिटरमध्ये २० किलोमिटर कालोपत्रे गरिसकिएको हो ।
पाँचथर खण्डअन्तर्गत जोरसाल–तमोर नदी ११ किलोमिटर र गणेशचोक–दारिम्बा नौ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको कार्यालयका आयोजना प्रमुख अभिमन मुल्मीले बताए ।
याङवरक गाउँपालिकास्थित दारिम्बादेखि साँगाडाँडासम्मको ३० किलोमिटर ग्रावेल गर्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख मुल्मीले भने ‘३० मध्ये २५ किलोमिटर ग्रावेलको काम सम्पन्न भएको छ ।’ उनका अनुसार उक्त खण्डमा चालू आर्थिक वर्षभित्रै कालोपत्रेका लागि ठेक्का लगाउने गरी प्रक्रिया अघि बढाइएको छ । तेह्रथुम खण्डको एक सय ४१ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्रे भएको छ । तमोर नदीदेखि सङ्क्रान्ति डाँडासम्मको २५ किलोमिटरमध्ये २० किलोमिटर सडक पिच बनिसकेको छ । आगामी कार्तिक महिनाभित्रमा बाँकी पाँच किलोमिटर पनि कालोपत्रे भइसक्ने गरी काम भइरहेको आयोजनाको फिदिमस्थित कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवु खत्रीले जानकारी दिए ।
त्यस्तै सङ्क्रान्तिदेखि सदरमुकाम म्याङलुङ सम्मको ६८ किलोमिटरमध्ये चार किलोमिटर कालोपत्रे भइसकेको छ । ४० किलोमिटर ग्रावेलको काम सम्पन्न भएको छ । म्याङलुङ–वसन्तपुर २६ किलोमिटर रहेको छ । उक्त खण्डको कालोपत्रे गर्ने कामका लागि तीन वटा प्याकेजमा ठेक्का लागिसकेको कार्यालयले जनाएको छ । सूचना अधिकारी खत्रीले भने,‘ठेक्का पाएका निर्माण कम्पनीहरूले काम शुरु गरिसकेका छन् ।’ लोकमार्गअन्तर्गत धनकुटाको हिलेदेखि लेगुवाघाटसम्मको २६ किलोमिटर कालेपत्रेसम्मको कामका लागि दुई प्याकेजमा ठेक्का लागि ग्रावेलको काम भइरहेको छ । उक्त खण्डको १५ किलोमिटर ग्रावेलको काम सम्पन्न भइसकेको छ । उक्त खण्डमा चालू आर्थिक वर्षमै कालोपत्रेको काम शुरु हुने कार्यालयको भनाइ छ । लेगुवाघाट–भोजपुर ६६ किलोमिटर भने एशियाली विकास बैङ्क (एडीबी) मार्फत् काम भइरहेको छ ।
फिदिमस्थित योजनाको कार्यालयले हेर्दै आएको पूर्वको अन्तिम खण्ड भोजपुर–चखेवाघाट ४२ किलोमिटर रहेको छ । जसमध्ये २२ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी २० किलोमिटर पनि चालू आर्थिक वर्षभित्रै कालोपत्रे भइसक्ने कार्यालयले जनाएको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणकार्य आर्थिक वर्ष २०६४/०६५बाट शुरु भएको हो । यो सडकले नेपाल(भारत सीमावर्ती क्षेत्र पाँचथरको याङवरक गाउँपालिकास्थित चिवाभञ्ज्याङदेखि पहाडी जिल्लाहरूलाई समेट्दै बैतडीको झुलाघाट जोड्नेछ । यो लोकमार्गको दूरी १७ सय ७६ किलोमिटर रहेको छ । लोकमार्गको निर्माणकार्य आर्थिक वर्ष २०७९/०८०सम्ममा सम्पन्न हुने फिदिमस्थित कार्यालयका प्रमुख मुल्मीले बताए । मध्यपहाडी लोकमार्गलाई पूर्वी खण्ड अन्तर्गत पाँचथरको गणेशचोक–जोरसाल ४० किलोमिटर मेची राजमार्गले जोड्छ ।
त्यस्तै लेगुवाघाट–भोजपुर ६६ किलोमिटर एडीबीअन्तर्गत काम भइरहेको छ भने वशन्तपुर (तेह्रथुम) हिले (धनकुटा) २२ किलोमिटर कोशी राजमार्गले जोडेको छ । पाँचथरको चिवाभञ्ज्याङदेखि भोजपुरको चखेवाघाटसम्मको तीन सय ६८ किलोमिटर हेर्ने गरी २०७५ पुषमा पाँचथर सदरमुकाम फिदिममा योजनाको कार्यालय स्थापना भएको हो । त्यसयता पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि करिब एक अर्ब १४ करोड रुपैयाँ खर्च भइसकेको कार्यालयका लेखा अधिकृत डिल्ली अधिकारीले बताए ।