विराटनगर/ एक नम्बर प्रदेशसभाका सत्तारुढ सांसद्हरूले नै प्रदेश सरकारको कडा आलोचना गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तापक्षका सांसद्हरूले सरकारको कडा आलोचना गरेका हुन् ।
सांसद्हरूले सामाजिक विकास मन्त्रालय, भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयमा अनियमितताको आशङ्का पनि गरे । उनीहरूले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयले असार अन्तिम समयमा बजेट रकमान्तर गरेर बजेटको दुरुपयोग गरेको दाबी गरे ।
कतिपय सांसद्हरूले कृषि मन्त्रालय र सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमको सूचीमा बिचौलियालाई अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मङ्गलबारको संसद् बैठकमा बोल्दै सत्तारुढ सांसद्ले नै मन्त्रीहरूका पिएले घूस लिएको सार्वजनिक भएको भन्दै जवाफ माग गरेका थिए ।
यस्तै बुधबारको बैठकमा सत्तारुढ नेकपाका सांसद् हीराकुमार थापाले कृषि र सामाजिक विकास मन्त्रालयले एउटै डालोमा बजेट राखेर कार्यक्रमको सूची सार्वजनिक गरेका कारण बिचौलियाले चलखेल शुरु गरेको दाबी गरे । सार्वजनिक गरिएका कार्यक्रममा बिचौलियाले चलखेल गर्ने प्रशस्त अवसर दिएको भन्दै सम्बन्धित क्षेत्रका प्रदेश सांसद्हरूलाई बेखबर राखेर योजनाहरू बिचौलियामार्फत् आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।
यस्तै सत्तारुढ सांसद् विर्खबहादुर प्रधानले विपन्न र गरिबका लागि ल्याइएको भनिएको जनता आवास कार्यक्रममा दलित र लोपोन्मुखका लागि मात्रै भनेर विभेदकारी नीति लिएको भन्दै असन्तुष्टि जनाए । उनले जनता आवास कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन नभएको बताउँदै गत आर्थिक वर्षमा काम गर्न नसकेको जान्दाजान्दै फेरि त्यही निकायलाई अहिले पनि काम गर्न जिम्मेवारी दिइएको भन्दै सरकारको आलोचना गरे । भवन निर्माण तथा शहरी विकास कार्यालयले सर्वसाधारणलाई लेनदेनको कुरा उठाएर दुःख दिने गरेको उनको दाबी छ ।
सत्तारुढ दलकै सांसद् वसन्तीदेवी यादवले कृषिलाई सरकारले १ नम्बरमा राखेको भए पनि रासायनिक मल अभाव कायम रहनु दुःखको कुरा भएको बताइन् । उनले बाढीका कारण आधा बाली सखाप भएको तर, जोगिएको बालीका लागि पनि मलको चरम अभाव हुँदा किसान समस्यामा परेको बताइन् ।
सांसद् अम्विका थापाले प्रदेशका अस्पताल, शैक्षिक संस्था तथा सरकारी निकायबाट बन्ने भवनहरू अपाङ्गमैत्री बनाउन माग गरिन् । उनले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा विद्यालय अपाङ्गमैत्री विद्यालय स्थापना गर्नुपर्नेमा जोड दिइन् ।
प्रदेशसभामा नेपाली काङ्ग्रेसका सांसद् हिमाल कार्कीले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयले असार अन्तिम समयमा बजेट रकमान्तर गरेर बजेटको दुरुपयोग गरेको आरोप लगाए । पार्टीभित्रका पनि आफ्ना गुटका कार्यकर्तालाई बजेट दिएको भन्दै रकमान्तर गरेको बजेटको फेहरिस्तबारे सदनलाई जानकारी गराउन माग गरे ।