पथरी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध सामुदायिक मोर्चा किराती राष्ट्रिय मुक्ति मोर्चाले १ नम्बर प्रदेशको नाम किरात राख्न दबावमूलक कार्यक्रम गर्ने भएको छ ।
मोर्चाको केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले १ नम्बर प्रदेशको नाम किरात राख्न क्रियाशील हुने निर्णय गरेको हो । प्रदेश संसद्मा दबाव दिने उद्देश्यले भेटघाट, अन्तरक्रिया, सांस्कृतिक तथा सभाहरू गर्ने निर्णय भएको मोर्चाका अध्यक्ष राजन किराती (वासु)ले बताए ।
मोर्चाले यसअघि पनि नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बृहत् अन्तरक्रिया गर्नुको साथै प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रतिपक्ष दलका नेता र सांसद्हरूलाई ज्ञापन–पत्र बुझाएको थियो ।
प्रदेशको नाम किरात राख्न छलफल तथा दबाव दिने उद्देश्यले संविधान दिवसको अवसर पारेर असोज ४ गते काठमाडौं र सुनसरीमा किरात सांस्कृतिक सभाको आयोजना गर्ने निर्णय भएको मोर्चाका महासचिव अर्जुन किरातीले बताए ।
बैठकले उत्पीडित समुदायको आरक्षण लोक सेवा आयोगले कटौती गरेकोप्रति भत्र्सना गर्दै सामुदायिक अधिकार स्थापनाको लागि हुने आन्दोलनमा मोर्चा सहभागी हुने निर्णय भएको छ । दुई पार्टी एकतापछि किराती मोर्चाको भूमिका र सङ्गठनको कार्यादिशा निर्धारण गर्न प्रतिवेदनसहित नाराको बारे समेत छलफल भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि रहेका पार्टी केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासङ्घ नेपालको केन्द्रीय संयोजक सुरेश आले मगरले पहिचानको सङ्घर्ष अझै जारी रहेको बताए । उत्पीडित समुदायको अधिकार स्थापनाको लागि पार्टीभित्र अन्तर सङ्घर्ष जारी रहेको बताए ।