विराटनगर/ विराटनगरस्थित केशलिया खोला किनारमा अवैध रूपमा (भरौट) माटोको उत्खनन् गरिने गिरोह सक्रिय रहेको पाइएको छ ।
केशलिया खोलाको धार नै परिर्वतन गरेर अवैध रूपमा खोलाको माटो उत्खनन् गर्ने गिरोह सक्रिय रहेको पाइएको हो । विराटनगरको कञ्चनबारीचौकदेखि पश्चिमतर्फ विराटनगर–४ इकराही भएर बग्ने केशलिया खोलामा अवैध उत्खनन्स्थलबाट चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
प्रहरीले सोमबार अवैधरूपमा खोलाको माटो उत्खनन् गरी लोड गरिरहेको अवस्थामा को.२ त ३०६१, को.१ त ४११५, को.१ त ५७७४ र को.२ त ५०३२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ । उत्खनन् गर्ने गिरोहले सो ठाउँमा सयौं मिटर क्षेत्रफलमा गहिरो खाडल पर्ने गरी उत्खनन् गरेर भरौट बेच्दै आएको छ ।
खोलाबाट झिकेको माटो उनीहरूले विराटनगर क्षेत्रका चौकअनुसार फरक–फरक मूल्यमा बेच्ने गरेको पनि पाइएको छ । उनीहरूले केशलिया खोलाबाट झिकिएको माटो विराटनगरको वरगाछी र कञ्चनबारीसम्म प्रतिट्याक्टर २ हजारदेखि ४ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । उक्त चौकदेखि अन्य ठाउँसम्म पु¥याए माटो महँगो मूल्यमा बिक्री हुने गरेको नियन्त्रणमा लिइएका सवारी चालकहरूले प्रहरीलाई बताए ।
उत्खनन् गर्ने समूहले केशलिया खोलाको साविकभन्दा पूर्वतर्फ मोडेर उत्खनन् गर्दै आएको छ । उत्खनन्का कारण खोला किनारमा गहिरो खाडल बनेका छन्, जुन खोलाको सतहभन्दा करिब एक सय फिट गहिरो छ । यसरी अवैध उत्खनन् गर्दा बाढीको समयमा सिङ्गो विराटनगर महानगरपालिका र आसपासका क्षेत्र डुबान हुने गरेको छ । गत साउन अन्तिम साता आएको बाढीले विराटनगर–६, १२ र १६ नम्बरको बस्तीमा केशलिया खोला पस्दा सयौं घर डुबानमा परेको थियो ।
अवैध उत्खनन् गर्नेे समूह प्रभावशाली रहेको कारण सो विषयमा बोल्नसमेत सर्वसाधारण डराउने गरेका छन् । खोलाजन्य पदार्थ निकाल्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण(आईईई) गर्नुपर्ने कानूनी व्यवस्था छ । सम्बन्धित स्थानीय तहहरूले ठेक्का लगाएपछि मात्र निर्धारित मापदण्डअनुसार खोलाजन्य पदार्थ उपयोग गर्न पाउने नियम रहे पनि ती सबै नियमलाई उल्लङ्घन गर्दै यहाँ अवैध उत्खनन् हुने गरेको स्थानीय बताउँछन् ।
उत्खनन् गरिएको खोलाको बगरभन्दा झण्डै ५ सय मिटर उत्तरमा अवस्थित पुलछेउमा पुललाई प्रतिकूल असर गर्ने गरी माटो उत्खनन् गरिएको छ । खोला किनारको डिल काटिएको कारण सामान्य बाढी आउँदा केशलिया खोला बस्तीमा पस्ने खतरा बढेको स्थानीय बताउँछन् । यसअघि गत वैशाखको दोस्रो साता पनि उक्त खोलामा अवैध उत्खनन् हुने गरेको थियो । अवैध उत्खनन् बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरीले सोही खोलाबाट अवैधरूपमा उत्खनन् गरिएको २ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । अहिले पुनः उत्खनन् शुरु भएको स्थानीय बताउँछन् ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले खोला किनारको २ सय मिटर क्षेत्रमा निजी जग्गा भए पनि उत्खनन् गर्न नपाइने बताए । अवैध उत्खनन् गरेको पाइए कारबाही गरिने उनले बताए । प्रहरीले नियन्त्रणमा लिएका चारवटा ट्याक्टरलाई आवश्यक कारबाहीको लागि विराटनगर महानगरपालिकामा सोमबार नै बुझाएको छ ।
२ महिनामा ४६ सवारी कारबाहीमा
सरकारले साउन र भदौ गरी दुई महिनाको अवधिमा ४६ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । साउनमा ४० वटा र भदौ ८ गतेसम्म ६ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । अवैध उत्खनन् गरी ढुङ्गा, गिट्टी, बालुवा र माटो ओसार्ने क्रममा नियन्त्रणमा लिएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए ।
वर्षाको समयमा सरकारले तीन महिना खोला उत्खनन् रोक्ने गरेको छ । नियन्त्रणमा लिइएका सवारीलाई आवश्यक कारबाहीका लाग स्थानीय तह र जिल्ला समन्वय समितिमा बुझाउने तयारी भएको उनले बताए । मोरङमा खोलाजन्य वस्तु उत्खनन्बाट ४० करोड बराबरको राजस्व सङ्कलन हुने गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।