सिरहा/ सिरहा जिल्लामा तीन वर्षमा आत्महत्या गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा सिरहामा ८८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवम् डिएसपी अपिल बोहरनले झुण्डिएर आत्महत्या गर्ने ५१ जना छन् भने विष सेवन गरेर ३७ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा ४० जनाले झुण्डिएर आत्महत्या गर्दा २२ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीसँग तथ्याङ्क छ । हरेक वर्ष आत्महत्याको दर बढिरहेको प्रहरीले जनाएको छ । आव २०७३/०७४ मा भने ३४ जनाले झुण्डिएर र १३ जनाले विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ ।
तीन वर्षको तथ्याङ्क केलाउँदा हरेक वर्ष आत्महत्या गर्ने दर बढेको डिएसपी बोहरनले बताए । डिएसपी बोहरनले भने, ‘आत्महत्या विभिन्न कारणले भइरहेको छ, कतिपय मानसिक समस्याका कारणले मरिरहेका छन् भने कतिपय साथीभाइ, परिवार, लागूऔषध, बेरोजगार, सम्बन्धविच्छेद कारण भइरहेका छन् ।’
आत्महत्याका पूर्व लक्षणहरू
प्रायः एकान्तमा बसी टोलाउने, सामान्य कुराकानीमा पनि रिसाउने, झर्कने, आवेशमा आउने जस्ता अस्वाभाविक व्यवहारहरू देखाउनेलगायत रहेका छन् । त्यस्तै लागूऔषध, मादक पदार्थ सेवन, समयमा खानपिन नगर्ने, मानसिक सन्तुलन ठीक नभएजस्तो देखिने चाँडै भावुक हुने, उत्तेजित हुनेलगायतका समस्याहरू देखिन थाल्ने मनोविश्लेषकहरू बताउँछन् ।
आत्महत्या नियन्त्रणका उपाय
परिवार तथा समाजमा माथिका लक्षण देखिन थालेमा समयमै पहिचान गरी मनोचिकित्सकलाई देखाउन सके सम्भावित घटना रोक्न सकिन्छ ।