इनरुवा/ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीले निर्माण गराएको खानेपानी ट्याङ्की हस्तान्तरण अगावै जीर्ण बनेको छ । इनरुवा नगरपालिकाको वडा नम्बर ५ देवेन्द्र चौकनजिकै निर्माण गरिएको खानेपानीको ट्याङ्की पूर्णरूपमा सञ्चालनमा नआउँदै चुहिन थालेको छ ।
४ सय ५० घनमिटर ओभरहेड ट्याङ्की निर्माणका लागि माङ्सुवा–साह जेभी इनरुवालाई २०७३ साल वैशाख २४ गते खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीले निर्माण कम्पनी माङ्सुवा–साह जेभी इनरुवालाई कार्यादेश दिएको थियो । डिभिजन कार्यालय इटहरी अन्तर्गत सञ्चालित इनरुवा खानेपानी आयोजनाको ठेक्का नम्बर ५–०७२/७३ अनुसार ट्याङ्की निर्माणको समयसीमा २०७४ कात्तिक २३ गतेसम्म रहने गरी निर्माण कम्पनीलाई कार्यादेश दिएको देखिन्छ । २ करोड ८ लाखको लागत स्टिमेट रहेको ट्याङ्कीको सम्झौता कबोल रकम भ्याटसहित १ करोड ५२ लाख ९३ हजार ६ सय ५ रुपैयाँ ८६ पैसा उल्लेख छ ।
काम सकाएर निर्माण कम्पनीले पाउनुपर्ने रकम भुक्तानी लिइसकेको छ । त्यतिमात्र नभएर ट्याङ्की मर्मतका नाममा प्राप्त हुने रकमसमेत शुरुवाती अवस्थामै निकालेर खर्च गरिएको छ । निर्माण कम्पनीले आवश्यक कागजात बुझाएर काम सकिएको आधारमा प्राविधिकको अनुगमनपश्चात् सम्झौता अनुरूपको भुक्तानी प्राप्त गरेको बताउँदै आएको छ ।
निर्माण कम्पनीले म्याद थप गरी काम सकाएर भुक्तानी लिइसक्दा समेत उक्त संरचना इनरुवा खानेपानीका नाममा अहिलेसम्म हस्तान्तरण भने भएको छैन । बलाहामा ५ कठ्ठा जग्गामा ४ लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीसहितका संरचना निर्माण गरिएको हो । १८ सय धारा जडान गर्ने लक्षसाथ खानेपानी ट्याङ्की निर्माण गरिएको भए पनि ट्याङ्की चुहिन थालेकाले डाइरेक्ट पानी सप्लाइ गर्ने गरिएको छ ।
स्थानीयवासीले नयाँ पानी ट्याङ्की भएर पनि निरन्तर पानी चुहिने समस्या देखिएकाले निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएको बताए । स्थानीय रमेश भट्टराई हस्तान्तरण पूर्व नै ट्याङ्कीमा समस्या देखिएकाले भविष्यमा जोखिम हुनसक्नेतर्फ बेलैमा सजग हुनुपर्ने बताउँछन् ।
हस्तान्तरण पूर्व नै संरचना जीर्ण बनेकाले इनरुवा खानेपानी उपभोक्ता संस्थाको कार्यालयले समेत उक्त संरचना बुझ्न नसकिने स्पष्ट पारेको छ । हस्तान्तरण नभइकनै पानी चुहिने समस्या देखिएकाले उक्त संरचना हस्तान्तरण गरिए आफूहरूले नबुझ्ने कार्यालयले जनाएको छ ।
निर्माण कम्पनीले ट्याङ्की मर्मत बापतको रकमसमेत शुरुवातमै निकालेर खर्च गरेको भन्ने जानकारीमा आएको बताउने इनरुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरू पानी चुहिने समस्या देखिनुले संरचनाको गुणस्तरमा प्रश्न खडा भएको बताउँछन् ।
इनरुवा खानेपानीका अध्यक्ष दिनेश सुवेदी जानी–जानी जीर्ण संरचना बुझ्ने कुरै नआउने बताउँछन् । पानी दिनहुँ चुहिरहेकोले इटहरीस्थित खानेपानी डिभिजन कार्यालयलाई जानकारी गराउँदा सामान्य भनेर पन्छिने गरेको उनको भनाइ छ । उनले भने, ‘हस्तान्तरणको कुरो उठ्दै छ । यद्यपि हामी बुझ्ने अवस्थामा भने छैनौं ।’
सुवेदीका अनुसार ट्याङ्की टालटुल गरी थमाउने प्रयास गरिए उपभोक्ता समितिका पदाधिकारी, सेवाग्राहीका साथै सरोकारवालासहितको आम भेला बोलाएर सार्वजनिक कार्यक्रमको आयोजना गरिनेछ । सर्वपक्षीय निर्णयबमोजिम मात्रै त्यसअघिको प्रक्रियामा आफू अघि बढ्ने सुवेदीले बताए । सुवेदीको बुझाइमा ट्याङ्कीमा देखिएको समस्या कमसल सामग्री प्रयोगपछिको परिणाम हो । जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले त्यसतर्फ निष्पक्ष छानबिन आवश्यक रहेको उनको भनाइ छ ।
उता खानेपानी ट्याङ्की निर्माण कम्पनीका प्रोप्राइटर जयप्रकाश साहले कमसल सामग्री प्रयोग भएको भन्ने विषय झुटो भएको बताएका छन् । सम्झौताअनुरूप काम गरेको दाबी गर्ने साहले निर्माण कार्य सम्पन्न भएपछि डिभिजन कार्यालयले अनुगमन गरी पास गरेर आफूले भुक्तानी पाएको बताए । साहले ट्याङ्कीबाट थोरै मात्रामा पानी रसाउनु सामान्य भए पनि निरन्तर चुहिएको भन्ने सन्दर्भ प्राविधिक लगेर निरीक्षण गराई ठहर भई मर्मत गर्नुपरेको खण्डमा पनि आफू पछि नहट्ने बताए ।