सिरहा/ सिरहा सदमुकाम सिरहा जिल्लाकै सबभन्दा पुरानो नगरपालिका हो । विकासलाई तुलना गरि हेर्दा सिरहाको सबभन्दा कमजोर विकास भएका नगरपालिकाका सूचिका पहिलो र दोस्रो स्थानमा सिरहा नगरपालिका पर्नेछ ।

सिरहा नगरपालिकामा भौतिक संरचनालाई हेर्दा क्रमिक रूपमा विदेशबाट आय आर्जन गरी ल्याएका गाउँका मानिसले शिक्षा र स्वास्थ्य सेवा खोज्दै बजारमा आई नयाँ घर निर्माण गरेको देखिन्छ । जिल्लाका अन्य साना ठूला बजारहरूका तुलनामा यहाँ शिक्षा र स्वास्थ्य सेवा धेरै कमजोर रहेको देखिन्छ ।

समुदायिक विद्यालय चन्द्र प्राविधिक धारको माध्यमिक विद्यालयको शैक्षिक स्तर गुणस्तरीय भए पनि नगरपालिकाका अन्य विद्यालय जनताका पहुँचमा रहेका तथ्याङ्कलाई मात्र प्रतिनिधित्व गरेका छन् । स्वास्थ्य सेवाको रूपमा रहेको जिल्ला अस्पताल पनि नाम मात्रका छन् । जनतालाई गुणस्तरीय तथा आधारभूत स्वास्थ्य सेवा पनि प्रदान गर्न सकेका छैनन् ।

निजी अस्पताल पनि गुणस्तरीय सेवा प्रदान गर्नु भन्दा जनताबाट पैसा कमाउने ठूलो व्यापारका रूपमा सञ्चालन भएका छन् । व्यापारका लागि खोलिएका ठूला ठूला होटल तथा पसलका मालिकहरू घाटामा गएर व्यापार बन्द गरी यहाँबाट पलायन हुने अवस्थामा पुगिसेका छन् । यो सबै समस्या बजारको संरचनाका कारण भएको होटल व्यापारी शिवकुमार साहले बताए ।

सिरहा नगरपालिकामा सडकबाटो, ढल निकास र सरसफाइ नभएका कारण यहाँ बाहिरका ग्राहक आउन चाहँदैनन् । यस विषयमा उद्योग वाणिज्य सङ्घको अध्यक्ष प्रमोद पैदारसँग कुरा गर्दा उनले जवाफमा भने भारतको सिमाको बाजर भएकै कारण यस्तो अवस्था देखिएको बताए ।

बजारका समस्याहरूबारे हालसम्म छलफल पनि गर्न नसकेको उद्योग वाणिज्य सङ्घको जवाफ चित्त बुझ्दो छैन । सिरहा बजारलाई भारतको सिमानाबाट हटाउन असम्भव छ तर यसलाई विकसित गर्न सबैले एकता गरे सम्भव छ । त्यसैले व्यपारीका प्रमुख माग सडक, ढल र सरसफाइको राम्रो व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ भन्ने रहेको छ । ती सेवाको राजस्व लिइरहेको स्थानीय सरकार चासोको साथ बजार विकासमा केन्द्रित हुनुपर्छ ।

त्यसै गरी जिल्ला अस्पताल सिरहाले आफनो मूल प्रवेश द्वारको अगाडि सडक छेउमा फोहोर बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिइरहेको छ । अस्पातालमा बिरामीहरूलाई प्रयोग गरेका औषधीका डब्बाहरू मूल गेटको छेउमा फाल्ने गरेको त्यहाँका व्यपारीहरूले बताएका छन् । सडक पेटीमा फालिएका औषधीका डब्बाहरूलाई छाडा गाईवस्तुले सडक बीचमा जथाभावी घिसारी ल्याउने गरेकोले सडक दुर्घटनाको उच्च जोखिम रहेको छ ।

बिरामी निको हुने ठाउँमा अस्पताल प्रशासनको बेवास्ताको कारण महिनौं देखि प्रवेश द्वारलाई फोहरको डम्पिङ साइट बनाई जनताका ज्यान खतरामा पार्ने प्रयास गरेको छ । सडक दुर्घटनाको उच्च जोखिम रहे पनि ट्राफिक प्रहरी दिनभरि त्यही ठाउँमा सिटि बजाई बसे पनि प्रहरी प्रशासन पनि जोखिमका रूपमा रहेका फोहर व्यवस्थापनका लागि ध्यान नदिएको देखिन्छ । अस्पतालको प्रवेश द्वारमा फोहोर बनाएको जिल्ला अस्पतालले भित्र पनि फोहोर व्यवस्थापनमा राम्रो ध्यान नदिएको बिरामीहरू बताउँछन् । सिरहा नगरपालिकामा अस्पतालमा मात्र होइन कतै पनि फोहोर व्यवस्थित रूपमा फाल्ने डम्पिङ साइट छैन । जसका कारण नगरपालिकामा फोहोरको समस्या बढेको देखिन्छ ।