भण्टाबारी । कोशी गाउँपालिका–४ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटानमा कार्यरत दुईजना प्रहरीलाई निलम्बित गरिएको छ । कटानदेखि इनरुवासम्म बस सञ्चालनमा सहज गरिदिने भन्दै सेवाग्राहीबाट घूस माग्ने सइ भीमबहादुर कटुवाल र प्रहरी जवान भरत कटुवाललाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

काँकडभिट्टादेखि काठमाडौं रुटमा विशाल भलाइ कोष यातायात प्रालिमार्फत् नयाँ पाथीभरा यातायातको तीनवटा यात्रुवाहक मिनीबसहरू सञ्चालन गर्दै आएकोमा सुनसरीको कोशी गाउँपालिका–४ स्थित रहेकोे अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटानमा कार्यरत सइ कटुवालले उक्त बस सञ्चालन गर्न सहज गरिदिने भन्दै मासिक रूपमा २ हजारका दरले रकम मागेका थिए ।

अन्य कम्पनीका बसले समेत कटानदेखि इनरुवासम्मको यात्रा सहज गर्ने नाममा २ हजारका दरले मासिक रूपमा दिँदै आएको र प्रतिबस २ हजारका दरले दिनुपर्छ भनी पटक–पटक रकम माग गरेकोमा नदिएपछि साउन ५ गते राति ट्राफिक प्रहरीले काठमाडौंबाट काँकडभिट्टा आउँदै गरेका मिनी बसलाई कोशी कटानमा रोकेका थिए । मासिक रकम नबुझाएकोले छोड्न नसकिने सइ कटुवालले भनेपछि गाडीमा रकम नभएकोले काँकडभिट्टाबाट फर्किंदा दिने तर कति दिनुपर्ने सोध्दा प्रहरी जवान भरत कटुवालले कुरा गर्छु भन्दै छाडेका थिए ।

पछि साउन ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटानमा कार्यरत भरत कटुवाल लाई सेवाग्राहीबाट ५ हजार घूस रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । उनको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय दिङ्ला भोजपुर दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटानमा कार्यरत सइ कटुवालको समेत संलग्नता देखियो ।

यसरी थुनामा रहेका सार्वजनिक पद धारण गरेको व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५१ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा रहने कानूनी प्रावधान रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल काठमाडौंका अनुसार प्रहरी जवान भरत कटुवाललाई साउन ६ गतेदेखि र सइ भीम कटुवाल लाई साउन १० गतेदेखि लागू हुने गरी निलम्बित गरिएको हो ।