दमक/ हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काई नदीमा निर्माणाधीन पुलको निर्माण कम्पनी वीरगञ्जको पप्पु कन्स्ट्रक्सन निर्माण सेवा टाट पल्टिएपछि ठेक्का बापतको तीन करोड रुपैयाँ जफत गरिएको छ ।

वीरगञ्जको पप्पु कन्स्ट्रक्सनले कन्काई नदीको पुल निर्माणका लागि ०६८ साल जेठ ३१ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार तत्कालीन पप्पु माहादेवा जेभीले २०७२ साल जेठ ३० गतेसम्ममा काम सम्पन्न गर्ने सम्झौता भएको थियो । मुख्य निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले सम्झौताअनुसारको मितिमा ४८ प्रतिशतमात्र काम सम्पन्न गरेको थियो ।

निर्माणको रेखदेखको जिम्मा पाएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरी सुनसरीका आयोजना प्रमुख विजयकुमार महतोका अनुसार पप्पु कन्स्ट्रक्सनलाई पटक–पटक सम्पर्क गर्दासमेत कार्यालयको सम्पर्कमा आएनन् । यस कारण तीन महिनाअघि सार्वजनिक सूचना नै जारी गरेर पप्पु कन्स्ट्रक्सनसँगको सम्पूर्ण सम्झौता खारेज गरिएको छ ।

कारबाहीस्वरूप निर्माण कम्पनीको धरौटी बापतको तीन करोड रुपैयाँसमेत सरकारले जफत गरिसकेको प्रमुख महतले जानकारी दिए । ठेक्का नै बदर गर्ने तयारी गरिएपछि सो कम्पनीसँग साझेदार रहेको माहादेवा जेभी भने सम्पर्कमा आएकाले पुनः एक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी हालै मात्र नयाँ सम्झौता गरिएको छ ।

कन्काईमा ७ सय २४ मिटर लम्बाइको पुल ०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ४८ प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाका प्रमुख महतोले जानकारी दिए । हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काई नदीमा निर्माण हुँदै गरेको पक्की पुल विगत एक वर्षदेखि अलपत्र थियो । पछिल्लो सम्झौता भएपछि भने पुलको निर्माणको कामले गति लिएको छ । सम्झौताअनुसार पुल ४ वर्षमा पूरा गर्नुपर्ने थियो । तर सम्झौता भएको ८ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन ।

पुल नहुँदा जोखिम मोलेर यात्रा
निर्धारित समयमा पुल निर्माण नहुँदा जिल्लाका दक्षिणीक्षेत्रका सर्वसाधारण नदीमा जोखिम र कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । पुल निर्माण भएको स्थानमा नै मानिसलाई आवत–जावत गर्न डुङ्गा सञ्चालन गर्दै आएका विपिन माझी पुल निर्माण नहुँदा मानिस जोखिम मोलेर नै आवत–जावत गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

माईपश्चिम र दक्षिणका स्थानीय बासिन्दाले पुल नहुँदा १५ मिनेटको बाटोलाई एक दिन लगाएर घुमेर जानुपर्ने बाध्यता भोग्दै आएका छन् । पुल नहुँदा दक्षिणी झापाका बासिन्दाले छोटो दूरीमा रहेका दैनिक किनमेल गर्नुपर्ने बजार जाँदासमेत घण्टौं समय लगाएर लामो बाटो घुमेर जानुपर्ने बाध्यता रहेको गौरीगञ्ज गाउँपालिका –१ का भागलाल राजवंशीले ब्लाष्टलाई बताए ।

पुल भ्याटसहित ३४ करोड ४० लाख ९० हजार रुपैयमाँमा ठेक्का दिइएको थियो । पप्पुको पार्टनर कम्पनी माहादेव खिम्तीले यस वर्षबाट काम शुरु गरेको छ । यसरी निर्माण कार्य अलपत्र हुँदा स्थानीय बासिन्दाले पुल नबन्ने हो कि भन्ने आशङ्कासमेत व्यक्त गर्न थालेका छन् ।

झापामा ९ वटा पुल निर्माणको काम समयमा सकिएन
झापाको हुलाकी राजमार्ग खण्ड अन्तर्गत १८ वटा साना–ठूला पुल पर्दछन् । जसमध्ये १५ वटा पुल निर्माणाधीन अवस्थामा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा नै यति ठूला योजना समयमा सम्पन्न नहुँदा एकातिर जनताले दुःख पाइरहेका छन् भने लागत रकमसमेत बढेर गएको छ ।

झापाको पूर्वी सीमाक्षेत्र मेची नदीको निर्माण भएको पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । नौ पटक शिलान्यास भएको उक्त पुल पहिलो पटक शिलान्यास भएको ६० वर्षपछि निर्माण सम्पन्न भएको हो । जिल्लामा निर्माणाधीन पुलहरूमध्ये यो एउटा प्रतिनिधि मात्र हो । झापामा अहिले पनि १५ वटा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । यी सबै पुलको निर्माण कार्य अति सुस्त गतिमा छ ।

केही आयोजनाका त वर्षौंदेखि निर्माणको काम बन्द छ भने केहीमा देखावटीरूपमा मात्र काम भएका छन् । यही जिल्लाको दक्षिणी क्षेत्रमा पुल निर्माणाधीन अवस्थामा छन् । निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा त्यस क्षेत्रका नागरिक सास्ती खेप्न बाध्य छन् । सुगम जिल्ला भएर पनि पुल निर्माण नहुँदा अहिले यस क्षेत्रका सर्वसाधारण कष्टकर जीवन निर्वाह गरिरहेका छन् । हिउँदभरि बाँसको पुल, वर्षायाममा डुङ्गाको भर पर्नुपर्ने अवस्था छ भने ठूलो पानी परेको बेला आवत–जावत गर्ने बाटो नहुँदा हप्तौँसम्म आफ्नै घरमा थुनिएर बस्नुपर्ने अवस्था रहेको गौरीगञ्ज गाउँपालिका–१ का टङ्क राईको गुनासो छ ।