इनरुवा/ जिल्ला प्रशासन कार्यालय सुनसरीमा नागरिकतामा भेटिएको त्रुटि सच्याउन पुगेका एक युवाले प्रहरी थुनामा रात बिताउनु परेको छ ।
आमाको नागरिकतामा फरक परेको जन्म–मिति सच्याउन जिल्ला प्रशासन कार्यालय पुगेका कोशी गाउँपालिका–३ का इसराफिल मन्सुरीले प्रहरी थुनामा रात बिताउनु परेको हो ।
नागरिकताको प्रतिलिपि बनाउँदा फरक परेको जन्ममिति सच्याउन वडागत सिफारिस लिई प्रशासन पुगेका इसराफिलले नागरिकता फाँटका कर्मचारीलाई मिति सच्याइदिने व्यहोराको निवेदन पेश गर्दा कर्मचारीले आफूलाई झुलाउने काम गरी यता र उता कुदाएको बताए ।
प्रशासनबाटै काम हुने भनिएपछि दोहो¥याएर कर्मचारीसमक्ष पुग्दा आफूमाथि अभद्रशैलीमा व्यवहार गरिएपछि मोबाइलमा भिडियो रेकर्ड गर्ने क्रममा प्रहरी लगाएर आफूलाई नियन्त्रणमा राखी मोबाइल खोसेर यातना दिएको इसराफिलले सुनाए ।
प्रहरीले नियन्त्रणमा लिई रातभर खोरमा राखेको बताउने इसराफिलले नागरिकता बनाउँदा वा सच्याउन आउँदा प्रहरी खोरमा रातभर बिताउनु परेको बताए । प्रहरीले समेत आफ्नै गल्ती देखाएको बताउने उनले उक्त घटनाका कारण आफू तनावमा रहेको बताए । प्रहरीले उनलाई बिहान मात्रै आफन्तको जिम्मा लगाएको थियो ।
आफूलाई पीडितको मितदिदी बताउने मञ्जु सरदारले कर्मचारीको गल्ती हुँदाहुँदै सर्वसाधारण सेवाग्राहीले सास्ती खेप्नुपरेकोमा आक्रोस पोखिन् । ‘स्वयम् कर्मचारीले गल्ती गरेको सरासर देखिएको छ । तर सजाय भने सेवाग्राहीले पाउनु पर्ने कहाँको न्याय हो ?’–उनले प्रश्न गरिन् । थुनामा राखिएको विषयमा प्रहरीले भने प्रशासन कार्यालयबाट कर्मचारीमाथि युवकले अभद्र व्यवहार गरेको भन्ने प्राप्त खबर र सम्बन्धित वडाध्यक्षको आग्रहमा एकरात थुनामा राखिएको जनाएको छ ।
प्रशासनको नागरिकता फाँटका कर्मचारीले भने युवकको गतिविधि शङ्कास्पद देखिएको र भिडियो रेकर्डिङ गरी कर्मचारीमाथि जाइलागेकाले प्रहरीको जिम्मा लगाइएको बताएका छन् । इसराफिल आमा लजमा खातुनको नागरिकतामा उल्लेखित जन्ममिति गलत भएको भन्दै सच्याउन जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।
२०६३ फागुन १५ गते बनाएको नागरिकतामा लजमाको जन्ममिति २०२५ वैशाख ६ गते उल्लेख छ । २०७५ असोज १५ मा जारी भएको प्रतिलिपिमा भने लजमाको जन्ममिति २०४५ वैशाख ६ गते लेखिएको छ ।
लजमाको जेठो छोराले आमाको नागरिकता आवश्यक परी खोजी गर्ने क्रममा आमाको जन्ममिति आफूभन्दा चार वर्षमात्र बढी भएको पाएपछि आश्चर्यमा परेको बताए । नागरिकताको प्रतिलिपिमा त्रुटि रहेको ठहर भएपछि सच्याउने क्रममो कोशी गाउँपालिका ३ नं. वडाको सिफारिससहित प्रशासन कार्यालय पुगेका भाइ प्रहरी खोरमा बस्नुपरेकामा उनले दुःखेसो व्यक्त गरे ।
































