धरान/एम्बुलेन्सको ठक्करबाट मङ्गलबार बिहान पैदलयात्रीको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–३ गोग्राहा चोकमा सप्तरी राजविराज–६ की ५५ वर्षीया उर्मिलादेवी झालाई ठक्कर दिई घाइते बनाएको थियो ।
घाइते झाको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । धनुषा नेशनल पोलिक्लिनिक वीरेन्द्रनगरले सञ्चालनमा ल्याएको ज १ च ११९५ नम्बरको एम्बुलेन्सले झालाई ठक्कर दिएको थियो । ठक्कर दिने एम्बुलेन्स र चालक धनुषा वीरेन्द्रनगर–१ का २२ वर्षीय दीपकुमार मुखियालाई नियन्त्रणमा लिएको जिप्रका मोरङले जनाएको छ ।
एम्बुलेन्सले झालाई बिहान ६ बजेर ४० मिनेटमा ठक्कर दिएको थियो भने उनको ७ बजेर ३५ मिनेटमा मृत्यु भएको जिप्रका मोरङका प्रवक्ता एवम् डिएसपी राजकुमार खिउँजूले जानकारी दिए ।
































