धरान/ गर्भवती बनाएर आफ्नो प्रेमीले धोका दिई बेपत्ता भएपछि एक युवतीले आइतबार अविवाहित अवस्थामै नवजात शिशु (छोरी) जन्माएकी छन् । उनले इटहरी उपमहानगरद्वारा सञ्चालित सेफ हाउस (सुरक्षित आवास गृह) मा आश्रय लिइरहेको अवस्थामा नवजात शिशु जन्माएकी हुन् ।

उनले सेफहाउसमा हप्तादिन अघिदेखि आश्रय लिइरहेकी थिइन् । आफूलाई प्रेमको जालमा फसाएर शारीरिक सम्पर्क गर्न बाध्य बनाएपछि गर्भवती हुनासाथ प्रेमी युवक बेपत्ता भएको उनले बताइन् । बेपत्ता प्रेमीलाई खोज्दै सङ्खुवासभाबाट इटहरीमा गभर्वती अवस्थामै आइपुगेकी ती युवतीलाई स्थानीय समुदायले सेफहाउसमा पुर्याएका थिए ।

सेफ हाउसबाट हालसम्म ७६ जना महिलाले सेवा लिएको इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले बताइन् । अलपत्र परेका, हराएका, जोखिममा परेका, हिंसामा परेका महिलालाई सेफहाउसमा राखेर अल्पकालीन सेवा प्रदान गरिन्छ ।

पूर्वका प्रायः सबै जिल्लाका महिलाले इटहरीको सेफहाउसबाट सेवा लिएका छन् । रसुवा, सिन्धुपाल्चोक, ललितपुर र सिन्धुलीका महिलाले पनि सेवा लिएको सेफहाउस सञ्चालक समितिले जनाएको छ । सेफहाउसमा १५ दिनसम्म राख्ने व्यवस्था छ । सो अवधिमा खानपिन, औषधिउपचार, काउन्सिलिङ प्रदान गरिन्छ ।

जनप्रतिनिधि, प्रहरी र सङ्घ–संस्थाहरूको सिफारिसमा समस्यामा परेका महिलालाई सेफहाउसमा राख्ने गरिएको छ । उनीहरूलाई आफन्त पत्ता लगाएर घरमा पुनस्र्थापित गर्ने गरिएको छ ।

घर जाँदाको बाटोखर्च पनि उपमहानगरले दिने गरेको छ । कोही आफन्त नभए वा आउन नसके घरसम्मै पु¥याउने व्यवस्था गरिएको छ । आफन्त पत्ता नलागेका चार जनालाई मङ्गलबार साहना पुनस्र्थापना केन्द्र काठमाडौं पठाइएको छ ।