बेलबारी /  बाढी र पैरोको प्रकोपका कारण मोरङको केराबारी गाउँपालिका बासिन्दाहरु प्रताडित बनेका छन् ।
केराबारीको सिंहदेवी,पाटी,याङशिला जाने सडक पहिरोले अवरुद्ध गरे पछि स्थानीय वासिन्दाहरुलाई आवतजावतमा समस्या परेको छ । पहरिोले सिंहदेवीका हरिबहादुर राई र खैसीबुङ्गे भनिने स्थानीय वासिन्दाको गरि दुईवटा घर भत्काई दिएको छ ।
बाटो भत्किएपछि अहिले उत्तरी खण्डका वडाहरुमा सवारी आगामन बन्द भएको स्थानीयले बताए । बाटो बन्द भए पछि स्थानीय वासिन्दाहरुलाई दैनिक जीवनमा कठिनाई भएको छ । दैनिक उपभोग्य बस्तुको तथा स्वास्थ्य उपचारमा समस्या परेको स्थानीयहरु बताउछन् ।
६ ठाउँमा सडक अवरुद्ध
सिंहदेवीको सोमवारे, विहीवारेलगायत ६ ठाउँमा सडक अवरुद्ध गरेको २ नम्वरका वडाध्यक्ष प्रेम लिम्बूले बताएका छन् । त्यसैगरी केराबारी १ को पाटी, वडा नं. ३ को भोगटेनी र वडा नं. ५ मा समेत पैरोले सडक अवरुद्ध गरेको स्थानीयले बताएका छन् ।
सडक अवरुद्ध गरेपछि विहीवार गाउँपालिकाको विपत व्यवस्थापन समितिको बैठक बसी ती ठाउँहरुमा मर्मत तथा सुधारका लागि तत्काल काम थाल्ने निर्णय गरेको छ । गाउँपालिकाको अध्यक्ष रोहितबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले विपत व्यवस्थापनका लागि आवश्यक रकम कार्यपालिकाको बैठकबाट निर्णय गरि कार्यान्वयन गर्ने भएको छ । बैठकमा सहभागि वडाध्यक्ष लिम्बूले मुलबाटो र शाखा बाटो दुवै संचालन गर्नेगरी बजेटको व्यवस्था गर्न बैठकमा माग गरेका छन् । केराबारीको समथर भूभागमा बाढीले खानेपानी, सिंचाईका कुलोहरु र पहाडी क्षेत्रमा बाटो विगारेकोले त्यसलाई मर्मत सम्हार गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्बूले बताईन् । आर्थिक वर्ष सकिए संगसंगै वडामा बजेट नभएको विपत व्यवस्थापनमा कम रकम भएको कारण पनि विपतका कामहरु गर्न कठिनाई परेको वडाध्यक्षहरु बताउँछन् ।
पाँच वटा पिकअप भ्यान थुनिए
पहिरोले बाटो अवरुद्ध गरेपछि सिंहदेवीमा पाँच वटा पिकअप भ्यान थुनिएको छ । सिंहदेवीमा सब्जी लिन गएका भ्यान सब्जी लोड गरेको अवस्थामा ११ दिन देखि छेकिएर थुनिएको वडाध्यक्ष लिम्बूले बताए । सडक चाडै खुलाउन स्थानीय वासिन्दाहरुले गाउँपालिकामा आएर दवाव समेत दिएका छन् । गाउँपालिकाले केराबारी ३ को भोगटेनीबाट अवरुद्ध सडक खुलाउन शुरु गरेको छ ।
खानेपानीका पायप बगाए
त्यसैगरी बाढीले केराबारीमा रहेको शुभ खानेपानीको पाईप बगाएपछि स्थानीय वासिन्दाहरुलाई खानेपानीको समस्या परेको छ । खानेपानीको पाईप पैरोले बगाएपछि स्थानीय वासिन्दाहरुले अस्थायी रुपमा भँडारे खोलाको पानीले काम चलाई रहेको शुभ खानेपानीका व्यवस्थापक मानवहादुर बराईलीले बताए । यस अघि जमिनमुनि पानी फिल्टर गरि खानेपानी संचालन गरिएको थियो । शुभ खानेपानीमा करिब एक हजार घरधुरी उपभोक्ताहरु रहेका छन् । त्यसैगरी केराबारी ९ मा पनि खानेपानीको पाईप बगाएपछि स्थानीय वासिन्दाहरुलाई खानेपानीको समस्या परेको वडाध्यक्ष भुपतिन्द्र प्रताप मल्लले बताए ।
त्यसैगरी बाढीले कुलोको मुहानमा कटान गरेपछि सिंचाई नहुँदा अहिले केराबारीमा रोपाई हुन नसकेको स्थानीय कृषकहरुले बताएका छन् ।