पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिका–२ फलैंचामा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार विस्थापित भएका छन् । निरन्तरको वर्षाका कारण मङ्गलबार राति वर्षासँगै भीषण पहिरो गएको हो ।
पहिरोका कारण याङ्वरक–२ फलैंचाको बेतेनी, मुक्लाबु, चिङ्मा, सेपी, गङ्गावा र धिमालेका बस्ती प्रभावित भएका हुन् । पहिरोले मुक्लाबुका पहलमान राईको घर पुरिएको वडा नं.२ का वडाअध्यक्ष देउकुमार योङ्हाङले बताए । पहिरोले राईको पशुचौपाया पनि पुरिएका छन् । भिरालो भू–भागमा रहेका ६ वटा बस्ती पहिरोले चिरा–चिरा परेका छन् ।
राति नौ बजेदेखि पहिरो जान थालेपछि ती बस्तीका मानिस राति नै घर छाडेर सुरक्षित स्थानको खोजीमा निस्केका छन् । सुरक्षित स्थान खोज्दै गाउँलेहरू स्थानीय डुँडे चौरसम्म पुगेको वडाअध्यक्ष योङ्हाङको भनाइ छ । विस्थापित हुनेहरूको एकिन तथ्याङ्क आउन बाँकी छ । करिब दुई दर्जन घरपरिवार विस्थापित भएको प्रहरीको अनुमान छ ।
विस्थापितहरुको उद्धार र सहयोगका लागि याङवरक–१, च्याङथापु प्रहरी चौकी र याङवरक–२, फलैंचा प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले बताए । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता, इन्स्पेक्टर अनिलकुमार पौडेल नेतृत्वको टोली पनि घटनास्थलतर्फ गएको छ ।
भिरालो जमिनमा निरन्तरको वर्षाका कारण ६ वटा बस्ती पहिरोको चपेटामा परेको स्थानीय समिर बेघाले बताए । पहिरोले स्थानीय मेजर–चिङ्मा–रविखोला लघु जलविद्युत् आयोजनामा पनि क्षति पु¥याएको छ । गाउँमा विद्युत्समेत अवरुद्ध हुँदा सम्पर्क हुन कठिनाइ भएको बताइएको छ ।