देउराली । धरान उपमहानगरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको गेट अगाडि एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  

मृतकका साथबाट सिरहा नगरपालिका– १ ठेगाना रहेको वर्ष ४७ का भक्तबहादुर पौडेलको नाममा रहेको प्रतिष्ठानको ओपीडी कार्ड फेला परेको छ । उक्त कार्ड मृतकको हो वा होइन भन्ने खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताएका छन् ।

मृतकको शवलाई प्रतिष्ठानको शव गृहमा राखिएको छ । स्थानीयका अनुसार प्रतिष्ठानको गेट अगाडि रहेको फलैंचामा सुतिरहेका उनलाई स्वासप्रश्वासमा समस्या भएको जस्तो देखिएको थियो ।

 पहिचान नखुलेका मृतकको साथमा रहेको ओपिडी कार्डका आधारमा अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताएका छन् ।