इटहरी/ ठीक तरिकाले तरकारी आपूर्ति नहुँदा बजारमा तरकारीको मूल्य दोब्बर बढेको छ ।
सोचेअनुरूप स्थानीय उत्पादन नहुँदा र बाहिरबाट भनेजस्तो तरकारी आपूर्ति नहुँदा बजारमा तरकारीको भाउ ह्वात्तै बढेको हो । तरकारीको मूल्य अघिल्लो वर्षको तुलनामा दोब्बर नै भएको व्यापारी आफै बताउँछन् । स्थानीय उत्पादन नहुँनु बाहिरबाट महँगो मूल्यमा तरकारी आपूर्ति हुँदा महँगिएको व्यापारी चन्दनलाल साहले बताए ।
यो समयमा तरकारी बढी खपत हुने गरेको उनी बताउँछन् । साह भन्छन्, ‘यो वर्ष तरकारीको मूल्य अघिल्लो वर्षको तुलनामा धेरै भयो ।’ अघिल्लो वर्ष एक सय १० रुपैयाँमा बेचेको अदुवा यो वर्ष २ सय २० रुपैयाँमा बिक्री भइरहेको उनले बताए । उनले भने, ‘हामीले किन्दा नै महँगो हालेर किनेका छौं ।’ अघिल्लो वर्षको तुलनामा यो वर्ष टमाटर पनि दोब्बर भएको व्यापारी निर्मला खड्काले बताइन् ।
इटहरी सब्जीमण्डीकै यसोदा बस्नेतका अनुसार इनरुवा, विराटनगर र धरानबाट ल्याएर सब्जी बिक्री गदै आएको छौ यो वर्ष अत्याधिक महँगो भयो । त्यससँगै व्यापारीहरूले बाहिरी जिल्लाबाट तरकारी आउने कारण महँगो हुने गरेको उनले बताइन् । गाउँबाटै आफैं तरकारी बोकेर बजार डुलाउन आउने किसानहरूले व्यापारीहरूको तुलनामा केही सस्तोमा तरकारी दिने गरेको उपभोक्ता साबित्री राईले बताइन् । खुद्रा व्यापारीको मनलाग्दी मूल्य निर्धारणले उपभोक्ता महँगीको मारमा परेको उपभोक्ताको गुनासो छ । यसलाई रोक्न सम्बन्धित निकायले ध्यान नदिएको उपभोक्ताको आरोप छ ।