भण्टाबारी । कोशी गाउँपालिका–८ स्थित मुख्य राजमार्गको पुल भत्किएको ११ वर्ष बित्न लाग्दासमेत निर्माण कार्य सम्पन्न भएको छैन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भण्टाबारीमा पर्ने सो पुल २०६५ साल भदौ २ गते आएको बाढीले बगाएको थियो ।
करिब ११ वर्षको अवधिमा राजमार्गको पुल निर्माणकार्यको नाममा सडक विभागले लाखौं खर्च गरिसकेको छ । कहिले पुलको स्तरोन्नति त कहिले निर्माणकार्य भन्दै सडक विभागले लाखौं खर्च गरेपनि पुल निर्माणकार्य अझैसम्म सम्पन्न हुन नसकेको स्थानीय मनोज यादव बताउँछन् ।
बाढीले भत्किएको पुल निर्माण गर्न ३ वर्षअघि अरनिको बाम्ती जेभी नामक कम्पनीले ठेक्का लिएको हो । पटक–पटक विभिन्न बहानामा बीचमै निर्माण कार्य रोकिने गरेकोले पुल निर्माण गर्न ढिलाइ भएको यादवले बताए । मुख्य राजमार्गको पुल निर्माण कार्य गर्न वैकल्पिक बाटो निर्माण गरे पनि त्यो जीर्ण बन्दै गएको उनले बताए । पूर्वबाट पश्चिमतर्फ जाने ठूला मालवाहक सवारीसाधनले जोखिमपूर्ण यात्रा गर्ने गरेको यादवले बताए । वैकल्पिक बाटो एकतर्फी भएकोले मालवाहक सवारी साधनसँगै सर्वसाधारणलाई समेत आवत–जावतमा समस्या आउने गरेको कोशी गाउँपालिका –८ का अध्यक्ष विन्देश्वरप्रसाद यादवले बताए ।
ठेकेदारको मनोमानीको कारणले २ वर्षमा बनिसक्नुपर्ने पुल ३ वर्ष बित्न लाग्दासमेत निर्माण नभएको अध्यक्ष यादवले बताए । निर्माण नसकिएको र नियमितरूपमा पानी न छर्ने गरिएकोले धुलोले समस्या भएको यादवले गुनासो गरे ।
होटेल सञ्चालक र सशस्त्र प्रहरी धुलोबाट हैरान भएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका सशस्त्र इन्स्पेक्टर सुरेन्द्रबहादुर भण्डारीले बताए । नियमितरूपमा पानी नछर्ने गरेकोले पानी छर्ने जिम्मा दिन ठेकेदारलाई पटक–पटक आग्रह गरे पनि कुनै सुनुवाइ नभएको भण्डारीले बताए । धुलोले गर्दा ड्युटी गर्न समस्या भएको उनले बताए । पुल निर्माण नहुँदा रातको समयमा सो क्षेत्रबाट चल्ने रात्री बस र ठूला मालवाहक सवारी साधन दुर्घटनामा पर्ने गरेको भण्डारीले बताए । १० महिने कार्यकालको अवधिमा हालसम्म ४ वटा सवारी साधन सो पुलमा दुर्घटनामा परेको उनले बताए ।
२ करोड लागतमा बढीमा २ वर्षमा उक्त पुलको निर्माणकार्य सम्पन्न गर्ने समझदारी भएको थियो । मुख्य राजमार्गको पुल निर्माणकार्य गर्ने जिम्मेवारी लिएका प्राविधिक विश्वास झासँग यसबारे बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनी भारतमा उपचाररत रहेकोले २ महिनायता सम्पर्कमा न आएको पुल निर्माण रेखदेखको जिम्मेवारी पाएका स्थानीय सकुर मियाँले बताए । पुल ढलाइको काम सकिएकोले तत्काल निर्माणकार्य रोकिएको र बढीमा ६ महिनासम्ममा पुल सञ्चालनमा आउने उनले बताए ।