ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाममा स्वास्थ्य र सफाईको क्षेत्रमा काम गर्दै आएको सोसिएल युथ गाईजले फुङ्लिङ नगररपालिकासँगको सहकार्यमा बजार क्षेत्रमा सौन्र्दय प्रदायक बिरुवा सहित गमला बितरण गरेको छ । प्रारम्भिक चरणमा गिटी र बालुवाद्धारा निर्मित ८० थान गमला बितरण गरिएको सोसिएल युथ गाईज ताप्लेजुङका अध्यक्ष लिलाराज पौडेलले जानकारी दिए ।
शुक्रबार बीरेन्द्रचौकमा आयोजित एक कार्यक्रमका बीच फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेलले गमला बितरण कार्यको सुभारम्भ गरे । नगरपालिकाको २ लाख ७८ हजार रुपैंया त्यसमा रोपिने बिभिन्न प्रजातिका सैन्दर्य प्रदायक बिरुवाहरू थप ४० हजार गरी करिव ३ लाख १८ हजार रुपैंयाको लागतमा गमला र विरुवा रोपण कार्यको प्रारम्भ भएको छ ।
अहिले बीरेन्द्रचौक आसपासमा बितरण गरिएको गमला आगामी बजेटबाट बजार क्षेत्रका सबै घरधुरीमा पुग्ने गरी बितरण गर्ने योजना रहेको नगर प्रमुख प्याकुरेलले बताए । घर अगाडि सडकमा राखिएको गमलाको स्याहार तथा सम्भार सम्बन्धित घरधनीको हुने छ ।
फुङ्लिङ नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउने नगरपालिकको योजनामा सोसिएल युथ गाईज पनि सह अभियन्ता बनेको छ । बितरण गरिएको गमलाको स्याहार तथा सम्भारको अवस्था,फूल रोपण तथा यसको व्यवस्थापनको बिषयमा गाईजले नियमन गर्ने छ । नगरको बजार क्षेत्रको सडकको दायाँ–बायाँ पर्नेगरी राखिएका गमलामा फुलेका फूलले नगरको सौन्दर्य बढाउने र हरियाली नगर बन्नमा सघाउने नगरपालिकाको बिश्वास छ ।
स्मार्ट सिटी बनाउने क्रममा केहि समय अघि मात्र सडक बत्तिको व्यवस्थापन गरेको नगरपालिकाले तत्कालै नगर क्षेत्रका बिभिन्न स्थानमा सोलार बत्तिको थप जडान कार्य गर्ने छ भने सीसीटिभीको बिस्तार तथा स्तरोन्नतीको कार्य समेत अघि बढाउने योजना बनाएको छ ।
त्यसका लागि फुङ्लिङ नगर क्षेत्रको सीसीटिभी जडान तथा व्यवस्थापनका लागि गठित समितिलाई जिम्मेवारी दिईएको र समितिबाट काम सुरु भईसकेको जानकारी आफुले पाएको नगर प्रमुख प्याकुरेलले बताए ।
यसअघि नगरपालिकाले फुङ्लिङ नगर क्षेत्रको माथिल्लो रोड क्षेत्रमा बनेको नमूना सडक र यहाँका सार्वजनिक धाराहरुमा सोलार बत्ति जडान कार्य पूरा गरेको थियो ।