विराटनगर/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्तालाई प्रहरीले विराटनगर महानगरपालिका–७ डाँफे चोकबाट पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का ५३ वर्षीय रुद्र पौडेललाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेका पौडेलमाथि ‘विप्लव’ समूहले विभिन्न समयमा आह्वान गरेको बन्द र हड्तालका बेला ठाउँ–ठाउँमा बम राखेर जनजीवन आतङ्कित पार्ने गतिविधिमा पनि संलग्न भएको आरोप लगाइएको छ ।

यसअघिदेखि नै प्रहरीले उनको खोजी गरिरहेको थियो । विभिन्न ठाउँमा बम राखेर शान्ति सुरक्षाको अवस्थामा असर पुर्याउने तथा सर्वसाधारणलाई आतङ्कित पार्ने कार्यमा पौडेलको संलग्नता हुनसक्ने आशङ्कामा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनीमाथि अनुसन्धान अघि बढाउन प्रहरीले सोमबार अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेको छ । अनुसन्धानका क्रममा बम राखेको पुष्टि भए त्यहीअनुसार अन्य कारबाही अघि बढाउने प्रहरीको तयारी छ ।