विराटनगर/ राजनीतिक र औद्योगिक आन्दोलनको इतिहास बोकेको विराटनगर–१६ स्थित विराटनगर जुटमिल क्षेत्रभित्र राजनीतिक सङ्ग्रहालय निर्माण गर्न कार्यदलले प्रदेश सरकारलाई सुझाव दिएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गठन गरेको राजनीतिक सङ्ग्रहालय स्थापना सम्भाव्यता अध्ययन टोलीले आइतबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै यस्तो सुझाव कार्यदलले दिएको हो ।

२००३ सालमा भएको राणाविरोधी आन्दोलनको उद्गमस्थल ऐतिहासिक विराटनगर जुटमिल क्षेत्रभित्र अत्याधुनिक सङ्ग्रहालय बनाउन सुझाव दिइयोे । कार्यदलले सङ्ग्रहालयभित्र २००३ देखि २०६२÷६३ सम्म भएको राजनीतिक आन्दोलनका नेतृत्व मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाको सालिक, शहीदको सालिक, आन्दोलनमा प्रयोग भएका सामग्री, तस्बिरलगायत ऐतिहासिक वस्तुहरू खोजेर सङ्ग्रह गर्नुपर्ने प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

यस्तै प्रदेश एकको भौगोलिक अवस्थिति झल्कने नक्सा हुनुपर्ने, धनकुटाको छिन्ताङ हत्याकाण्ड झल्कने सामग्री, विराटनगर मिल्स एरियामा मिल सञ्चालन भएको अवस्था झल्कने सामग्री सङ्ग्रहालयमा राख्न सुझाव दिएको कार्यदलका सदस्य यज्ञ शर्माले बताए । यसैगरी सङ्ग्रहालयभित्र पार्क, वाटर पार्क, पार्किङ, चमेना गृह, खेलमैदान, अनुसन्धान केन्द्र, अस्पताल, भ्यूटावर, मन्दिर, कोसेली घर हुनुपर्ने कार्यदलले सुझाव दिएको छ ।

कार्यदलका अध्यक्ष ओमनाथ कोइरालाले विराटनगरका विभिन्न आन्दोलनमा प्रयोग गरिएका तोप, प्लेन, जेलमा प्रयोग गरिएका नेल, हत्कडी, ठिङ्गुरो, तुरुङ, ट्रयाङ्कलगायतका सामग्री काठमाडौं सुन्दरीजलमा राखिएकोले यहाँ ल्याउनुपर्ने बताए । विराटनगर जुट मिल क्षेत्र ६५ बिघा रहेकोले त्यसको ३० बिघा प्रदेश सरकारले सङ्घीय सरकारसँग माग गरेर सङ्ग्रहालय बनाउन माग गरिनुपर्ने बताइएको छ । आन्दोलनमा सहभागी योद्धा जो अहिले पनि जीवित छन्, उनीहरूका अनुभव सङ्ग्रह गर्नेलगायत काम शुरु गरिहाल्न कार्यदलले सुझाव दिएको छ । सङ्ग्रहालय दिगो बनाइराख्न सङ्ग्रहालय विकास कोष सञ्चालन गर्नसक्ने सुझाव दिएको छ ।

प्रतिवेदन ग्रहण गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले औद्योगिक र राजनीतिक उद्गमस्थल जुट मिल्स एरिया भएकोले यसको संरक्षण र सम्बद्र्धन एवम् सम्मानका लागि त्यहाँ सङ्ग्रहालय बनाएर इतिहास बुझ्न आउने थलोको रूपमा विकास गरिने बताए ।