धरान / नेपाल जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणाको १४ व्यवहारमा भने लागु नभएको सरोकारवालाले बताएका छन् ।
मानिसको सोच र व्यवहारमा परिवर्तन नहुदा सरकारको घोषणा बेकार भएको उनीहरुको भनाई छ ।
१४ औं जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्रिय दिवसको अवसरमा मंगलबार धरानको भानुचोकमा भएको आमसभाका वक्ताहरुले अझै पनि दलित समुदायमाथि जातको आधारमा विभेद र छुवाछुत भइरहेको गुनोसो गरे ।

१ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले विभेद र छुवाछुत हटाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । उनल ेभने –‘क्रान्तिकारी कुरा गर्दैमा मात्र परिवर्तन सम्भव हुदैंन । सोच र व्यवहारलाई वदलेर आफ्नो घरबाटै व्यवहारमा लागु गर्नुपर्ने पर्छ ।’
कार्यक्रममा प्रदेश सांसद उमिता वराइली , धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, दलित अधिकारकर्मी एवं नेकपाका प्रदेश नेता डिबि साह शंकर, ब्राह्मण समाज धरानका सचिव कमलप्रसाद भटराई, महिला सञ्जाल धरानकी कोषाध्यक्ष लहरु जिमी, अधिकारकर्मी तथा नेता दलमर्दन कामी, विजय अछामिलगायतले सभालाई सम्बोधन गरेका थिए ।
सभाले जातीय विभेदविरुद्ध ७ बुँदे धरान घोषणा पत्र पनि जारी गेको छ । कार्यक्रम धरान उपमहानगरपालिकाअन्र्तगतको दलित विकास समितिले आयोजना गरेको हो ।