विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित प्रजातन्त्र मार्गमा पहुँचवाला व्यक्तिको घर जोगाउन मापदण्ड मिचेर सडक निर्माण गरेपछि स्थानीयले विरोध गरेका छन् । केही व्यक्तिको घर जोगाउन जनप्रतिनिधि लागेर करिब ६ सय मिटर क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणको काम अगाडि बढेपछि स्थानीयले विरोध गरेका हुन् ।

मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तर्गत विराटनगर–१५ रानीपथ हड्ताली हाट हुँदै रामजानकी चौकसम्म १ हजार ५ सय मिटर सडक निर्माणको काम भइरहेको छ । उक्त सडकको नाम स्थानीयले प्रजातन्त्र मार्ग नामकरण गरेका हुन् । स्थानीय र महानगरपालिकासँग सहमति भएअनुसार उक्त सडक विस्तार गरी फराकिलो बनाउने भन्दै पक्की नालासहित १५ मिटर चौडाइको सडक निर्माण गर्ने सहमतिअनुसार काम अगाडि बढेको स्थानीय मित्रलाल गिरीले बताए ।

‘सहमतिअनुसार निर्माणको काम भइरहेको थियो’ उनले भने, ‘९ सय मिटरसम्म मापदण्डअनुसार काम भयो । त्यसभन्दा अगाडि जनप्रतिनिधिलाई प्रलोभनमा पारी कसैको घर जाने भएपछि सडक नै साँघु¥याउन खोजिएको छ ।’

विराटनगर–१५ को रानीपथदेखि बरपीपलचौकस्थित विश्वप्रसाद साहको घरसम्म ९ सय मिटर सडक मापदण्डअनुसार निर्माण भए पनि त्यसभन्दा अगाडि ६ सय मिटर मापदण्ड विपरीत निर्माण प्रक्रिया अगाडि बढेको गिरीले बताए । विराटनगर–१५ का वडाअध्यक्ष असलम आलमको निर्देशनअनुसार निर्माण कम्पनीलाई दबाव दिएर ६ सय मिटर सडक मापदण्डविपरीत बनाउन शुरु गरेको स्थानीय बताउँछन् । आधा दर्जन पहुँचवाला व्यक्तिको घरका पर्खाल जाने भएकोले वडा अध्यक्ष आलमले जोगाउन खोजेको स्थानीयको भनाइ छ ।

६ सय मिटर सडक मापदण्ड मिचेर १० मिटरमा नालासहित निर्माण गर्न थालेको स्थानीय आइतबहादुर तामाङले बताए । ‘हाम्रो साइडमा १५ मिटरको सडक बनाउने भन्दै ठाउँ छोडेर सडक बनाउन दियौं’ उनले भने, ‘हाम्रोभन्दा अगाडि मापदण्ड विपरीत सडक विस्तार गर्न खोज्दैछन् । कसैलाई काखा कसैलाई पाखा गर्नु राम्रो होइन । सबैलाई एक समान रूपमा हेरेर विकास कार्य अगाडि बढ्नु पर्दछ ।’ मापदण्ड विपरीत नाला खन्न शुरु गरेकोले सडक निर्माण तत्काल रोक्नुपर्ने स्थानीयले माग गरेका छन् ।

मापदण्डविपरीत बनाउन शुरु गरिएको ६ सय मिटर क्षेत्रमा बोधनारायण देव, अनन्त सिंह, चन्द्रमोहन साह, वीरेन्द्र धाडेवाल, हरि ठाकुरलगायतको पर्दछ । मापदण्डअनुसार सडक विस्तार गरे उनीहरूको घरको पर्खाल भत्किने भएकोले वडाअध्यक्षलाई प्रलोभनमा पारी पर्खाल जोगाउन खोजेको स्थानीयको आरोप छ ।

स्थानीय तीर्थप्रसाद मण्डलले मापदण्डविपरीत निर्माण भएको सडक रोक्न अदालतमा मुद्दा पनि दर्ता गरेका थिए । उच्च अदालतले ०७५ चैत २८ गते मापदण्ड विपरीत निर्माण भएको सडकको निर्माण कार्र्य नगर्नू भनी अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशको अवज्ञा गर्दै वडाअध्यक्ष आलमको ठाडो निर्देशनमा निर्माण गर्ने जिम्मेवारी पाएको आशिष कन्स्ट्रक्सनले डोजर लगाएर नाला बनाउने काम गर्दै आएको स्थानीय बताउँछन् ।

यता विराटनगर–१५ का वडाअध्यक्ष आलमले मापदण्ड विपरीत काम भएको जानकारी पाएपछि निर्माण कार्य रोक्न निर्देशन दिएको बताए । ‘प्रजातन्त्र मार्गको सडकमा मापदण्डको विषयमा विवाद आएको हो’ उनले भने, ‘अहिले निर्माण कार्य रोकिएको छ । यस विषयमा मेयरलाई पनि जानकारी गराएपछि अहिले काम रोकिएको हो ।’ असार १० गते बस्ने नगरपरिषद्को बैठकमा एउटा निचोडमा पुगेपछि निर्माण प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।