धरान/ धरान–१५ स्थित सुसनरोड टोल विकास संस्थाले शनिबार मोबाइल मर्मत तालिम उद्घाटन गरेको छ ।
धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयको अनुदान सहयोग, भान्जा मोबाइल मर्मत तथा तालिम केन्द्र धरानको प्राविधिक संयोजन तथा सुसनरोड टोल विकास संस्थाको आयोजनामा मोबाइल मर्मत तालिम शुरु भएको हो । ३ महिने सीपमूलक एवम् स्वरोजगारमुखी मोबाइल मर्मत तालिममा धरान–१५ का सुसनरोड, महादेवचोक, विशालचौक, शिवगङ्गालगायत विभिन्न टोल विकास संस्थाका १५ जना युवायुवतीहरू सहभागी रहेका छन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् धरान १५ नं. वडाअध्यक्ष नरेश इवारमले धरान १५ नं. वडामा धेरै किसिमका सीपमूलक तालिमहरूको लागि बजेट विनियोजन गरिएको र वडाका २६ वटै टोल विकास संस्थाहरूमा सञ्चालन गरिएको बताए । उनले वडाका सबै टोलका बासिन्दाहरूलाई यस्ता सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने वडाको योजना रहेको बताए ।
आगामी दिनमा पनि धरान उपमहानगरपालिकासँग समन्वय गरी अझ प्रभावकारी रूपमा अरु किसिमका सीपमूलक एवम् स्वरोजगार लक्षित तालिम सञ्चालन गर्ने जनाए । कार्यक्रममा वडाध्यक्ष इवारमले सबै सहभागीहरूलाई नियमित रूपमा तालिममा सहभागी भई ज्ञान र सीप सिकेर त्यसलाई व्यवहारमा उतार्न सुझाए । तालिमपछि सामूहिक रूपमा मोबाइल मर्मत केन्द्र खोल्न आग्रह गर्दै त्यसका लागि धरान उपमहानगरपालिकासँग समन्वय गरी आर्थिक सहयोग गर्ने जनाए ।
कार्यक्रममा भान्जा मोबाइल मर्मत तथा तालिम केन्द्रका प्रशिक्षक सविन लम्सालले मोबाइल मर्मत तालिम ३ महिनासम्म सञ्चालन हुने र तालिम धेरै नै उपयोगी रहेको बताए । धरान १५ नं. वडाध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा वडासदस्य रामकाजी राई, विशालचौक टोल विकास संस्थाका अध्यक्ष टीका पाख्रिन, शिवगङ्गा टोल विकास संस्थाका अध्यक्ष रत्न नेम्वाङ, सुसन रोड टोल विकास संस्थाका सह–सचिव राजेन्द्र खड्का, भान्जा मोबाइल प्रशिक्षण केन्द्रका प्रशिक्षकद्वय सविन लम्साल र सचिन पोख्रेललगायत तालिममा सहभागीहरूको उपस्थिति थियो ।
सुसन रोड टोल विकास संस्थाका अध्यक्ष वेदकुमार सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुनिता राईले गरेकी थिइन् ।