धनकुटा । मध्यपहाडी लोकमार्ग अन्तर्गत धनकुटाको हिलेदेखि लेगुवासम्मको सडक–खण्ड गुणस्तरहीन र मापदण्ड विपरीत रहेको पाइएको छ । अनुगमनका क्रममा सडक मापदण्ड विपरीत र गुणस्तरहीन बनेको पाएपछि स्थानीयवासी र जनप्रतिनिधिले ठेकेदार कम्पनीको चर्को आलोचना गरेका छन् ।

धनकुटाको हिलेमा शुक्रबार सङ्घीय सरकारको प्रविधि तथा विकास समितिले मध्यपहाडी लोकमार्गको विषयमा गरेको छलफलमा यस्तो आलोचना गरेका हुन् । कार्यक्रममा बोल्दै सङ्घीय सांसद् राजेन्द्रकुमार राईले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगर्ने, गुणस्तरहीन सडक निर्माण गर्ने र सडक निर्माण गर्दा सामान्यभन्दा सामान्य सडकको मापदण्ड पनि पूरा नगरी लापरबाहीका साथ काम गर्ने निर्माण व्यवसायीलाई कारबाही गरेर ठेक्का तोड्नुपर्ने बताएका छन् । चार वर्ष अवधि सकिँदा पनि २६ किलोमिटर बाटो निर्माण गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का तोड्न सांसद् राईले

मध्यपहाडी लोकमार्ग निर्माण आयोजनाका प्रमुखलाई आग्रह गरे ।
त्यसैगरी प्रदेश सांसद् इन्द्रमणि पराजुलीले मुलुकमा व्यवस्था परिवर्तन भए पनि काम गर्ने ढाँचा, शैली पुरानो नै भएकाले विकास निर्माणका काम भनेजस्तो तीव्र गतिमा हुन नसकेको बताए । उनले सडक निर्माण कार्यमा निर्माण कम्पनीलाई जिम्मेवार बनाउनु पर्ने र नभएमा नियमनकारी निकायले कारबाही गर्नु पर्ने बताए । त्यस्तै प्रदेश सांसद् लीला सुब्बाले लोकतन्त्रमा जनताका आवाज सुन्नुपर्ने र समस्याको पहिचान गर्नुपर्ने बताइन् ।

मध्यपहाडी लोकमार्गको अवस्था अनुगमनका लागि विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्का नेतृत्वको टोली धनकुटा आइपुगेको हो । टोलीले जनप्रतिनिधि, स्थानीयबासी, सञ्चारकर्मीलगायत सरोकारवालासँग सुझाव तथा राय लिएको छ । यसै क्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बिर्खबहादुर राईले स्तरहीन कामले जनप्रतिनिधिले नै कुटाइ खाने अवस्था आएको बताए । पुल निर्माण भएका स्थानमा वैकल्पिक मार्ग व्यवस्थित नगरिँदा सर्वसाधारण सास्ती खेप्नुपरेको उनले बताए ।

पाख्रीबास–४ का वडाध्यक्ष सोभित निरौलाले स्तरहीन सडकको रूपमा लोकमार्गको काम भएको भन्दै निर्माण भइरहेको पुलमा १ बोरा सिमेन्टमा १३ बोरा बालुवा प्रयोग गरिएको र प्राविधिक दृष्टिले चरम लापरबाही रहेको जानकारी दिए । महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले ठेकेदारको लापरबाही रहेको बताए । पाख्रीबास–३ का स्थानीय कृष्णबहादुर कटुवालले पनि आक्रोस पोखे । तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले लोकमार्गबारे जानकारी माग्दा सूचना लुकाउने गरेको बताए । छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले लोकमार्ग बन्दा पहिले खुशी र अहिले चिन्ता थपिएको बताए ।

मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख दीपक केसीले सडकको काम सुधार गर्ने आश्वासन दिए । कञ्चनजङ्घा कन्स्ट्रक्सनका इञ्जिनियर ओमप्रकाश साह र बिरुवा कन्स्ट्रक्सनका इञ्जिनियर सागर श्रेष्ठले सच्चिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अनुगमन टोली संयोजक खड्काले लोकमार्गको कामबारे गुनासो आएको बताइन् । समयमा काम नसकिए ऐनले नै कारबाही गर्ने व्यवस्था गरेकोले सच्चिन चेतावनीसमेत दिइन् । अनुगमन समितिका सदस्य सांसद् गणेश पहाडी, राजेन्द्र राईलगायतले गुणस्तरहीन सामग्री प्रयोग नगर्न र समयसीमाभित्र काम सम्पन्न गर्न जोड दिए ।

यसैगरी मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा कयौं बस्ती विस्थापित हुने भन्दै स्थानीयले गुनासो गरेका छन् । सडकको मध्यभागबाट दायाँ–बायाँ २५ मिटरका दरले जग्गा चर्चिएपछि त्यस आसपासका कतिपय पुराना बस्ती नै विस्थापित हुने स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । सडकबारे राय सङ्कलनका क्रममा संसदीय समितिका पदाधिकारी समक्ष स्थानीयले उक्त जानकारी गराए । सडक ऐनमा नै उल्लेख गरिएकोले कम्तिमा सडक दायाँ–बायाँ ३१ मिटरसम्मका घर बस्ती हटाउने तथा नयाँ घरका लागि नक्सा पास नगरिने भएकोले सर्वसाधारणले सास्ती खेप्नु परेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

तामाङले सडक विभागले सडकको मध्यभागदेखि दायाँ–बायाँको दूरी कायम नगरिँदा जनताले सास्ती बेहोर्नु परेको बताए । उनले सडकको मध्यभागदेखि पहाडी भेगमा १५–१५ मिटर कायम गर्नुपर्नेमा जोड दिए । सडकले व्यक्तिको जग्गाको लगत कट्टा नगर्दा र सडकको चौडाइको दूरी कायम नगर्दा आम सर्वसाधारण मर्कामा परेको बताए । धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले मध्यपहाडी लोकमार्ग अन्तर्गत धनकुटाको हिलेदेखि लेगुवासम्मको २६ किलोमिटर राजमार्गमा भोजपुर, सङ्खुवासभा र धनकुटाका जनताले जहिले पनि मार खप्नुपरेको बताए । उनले हिउँदको समयमा धुलाम्य र वर्षाको समयमा हिलाम्मे हुनाले ४ वर्षदेखि सास्ती खेप्नुपरेको बताए ।