इटहरी । मेयरविरुद्ध आन्दोलनमा उत्रिएका इटहरी उपमहानगरपालिकाका कर्मचारीहरू काममा फर्किएका छन् । कर्मचारीहरूमाथि कुटपिट गरेको भन्दै आन्दोलित कर्मचारीहरू उपमेयर लक्ष्मी गौतमको आश्वासनपछि काममा फर्किएका हुन् ।
इटहरीका मेयर द्वारिकलाल चौधरीले कर्मचारीहरूलाई कुटपिट गरेको भन्दै आन्दोलित कर्मचारीहरूले बिहीबार कार्यालय ठप्प पारेका थिए । मेयर चौधरी विरुद्ध इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूले उमपेयर गौतमलाई ज्ञापन–पत्र बुझाएपछि आन्दोलन फिर्तासँगै काममा फर्किएका हुन् ।
सवओभरसियर राम खड्कालाई घूस लिएको भन्दै बुधबार अभद्र व्यवहार गरी कार्यालयपरिसरबाट निकाला गरेको र नायव सुब्बा मनोज दाहाललाई कार्यालयको सिसी क्यामरासमेत अफ गरेर बुधबार नै अश्लील गाली गर्दै निर्घात कुटपिट गरेको भन्दै कर्मचारीहरू आन्दोलित भएका थिए ।
असुरक्षित भएको भन्दै बुधबारदेखि कर्मचारीहरू आन्दोलित हुँदै आएका थिए । कर्मचारीहरू कार्यालयमै असुरक्षित भएको भन्दै उपमेयर गौतमलाई ज्ञापन–पत्र बुझाएका थिए ।
उपमहानगरले माफी माग्यो
समाचार सङ्कलनका क्रममा पत्रकारहरूमाथि मेयर चौधरीले गरेको दुव्र्यवहारमा इटहरी उपमहानगरपालिकाले माफी मागेको छ ।
जेठ ८ गते पत्रकारमाथि भएको दुव्र्यवहारको घटनालाई लिएर इटहरी उपमहानगरपालिकाले माफी मागेको हो । कार्यवाहक मेयर लक्ष्मी गौतमले हस्ताक्षर गरेर जारी गरिएको प्रेस विज्ञप्तिमा परिस्थितिजन्य घटना भएको भन्दै पत्रकारहरूसँग क्षमायाचना गरिएको छ ।
मेयर चौधरीले समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरू कृष्णबहाव भट्टराई र विकल रेग्मीमाथि दुव्र्यवहार गरेका थिए । पत्रकारहरूले चौतर्फीरूपमा विरोध गरे पछि उपमहानगरले लिखितरूपमै माफी मागेको हो । आगामी दिनमा यस्तो गल्ती नदोहोरिने भन्दै उपमहानगरले माफी मागेको छ ।